काठमाडौं । जेनजी आन्दोलनका कारण देशभर बढ्दै गएको तनावपूर्ण अवस्थाबीच नेपाली सेनाले संयमता अपनाउन र राष्ट्रिय सम्पत्तिको रक्षा गर्न सबै नेपालीलाई अपिल गरेको छ। सेनाले विज्ञप्ति जारी गर्दै नेपाल र नेपाली जनताको जिउधनको सुरक्षा गर्न सदैव प्रतिबद्ध रहेको दोहोर्याएको छ। साथै, वर्तमान परिस्थितिलाई थप जटिल हुन नदिन प्रदर्शनकारी, राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण जनतालाई संयमित रहन आग्रह गरेको छ। विज्ञप्तिमा भनिएको छ, “यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको जिम्मेवारी हो। सम्पत्ति नष्ट हुनु देशकै क्षति हो, त्यसैले सबैले मिलेर यसलाई जोगाउनुपर्छ।” जेनजी आन्दोलन राजधानीसहित देशका विभिन्न भागमा चर्किँदै जाँदा सिंहदरबार, संसद् भवन, पार्टी कार्यालय र विभिन्न सरकारी संरचनामा आगजनी र तोडफोड भइरहेका छन्। यस्तो संवेदनशील घडीमा सेनाले राष्ट्रिय एकता, शान्ति र सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेको हो।