काठमाडौं । जेन–जी प्रदर्शनकारीलाई राष्ट्रपति रामचन्द्र पौडेलले वार्तामा आउन आग्रह गरेका छन् । मंगलबार प्रदर्शन उग्र बन्दै गएपछि राष्ट्रपति पौडेलले प्रधामन्त्री केपी शर्मा ओलीले दिएको राजीनामा स्वीकृत भइसकेको जनाउँदै जेन–जीसहित प्रदर्शनकारीहरुलाई वार्तामा बोलाएका हुन् ।
‘मुलुकको विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी नागरिकलगायत सबैलाई सहयोग गर्न म आग्रह गर्छु’, राष्ट्रपतिले वार्तामा बोलाएको पत्रमा उल्लेख छ, ‘लोकतन्त्रमा नागरिकले उठाएको मागहरु जेनजीका प्रतिनिधिसमेत बसी वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकाले संयमित हुन, मुलुकलाई अरू क्षति हुन नदिन र वार्तामा आउन म सबै पक्षलाई अपिल गर्छु ।’
त्यस्तै, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक हुतराज थापाले पनि संयुक्त वक्तव्यमार्फत आन्दोलनरत पक्षलाई वार्तामा बोलाएका छन् ।
यसका अतिरिक्त नेपाली सेनाले एकल वक्तव्यमार्फत पनि प्रदर्शनरत पक्षलाई वार्तामा बोलाएको थियो । मंगलबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै नेपाली सेनाका प्रधानसेनापति सिग्देलले पुनः वार्तामा आउन आह्वान गरेका थिए ।
प्रधानसेनापतिको सम्बोधनलगत्तै नेपाली सेनाले मंगलबार राति १० बजेदेखि लुटपाट, आगजनीजन्य आपराधिक घटना नियन्त्रण थालेको छ । त्यसअघि सेनाले माइकिङ गर्दै सेना परिचालन भएको जानकारी गराएको थियो ।