काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । सोमबारको प्रदर्शनमा प्रहरीको गोलीबाट झण्डै दुई दर्जन प्रदर्शनकारी मारिएपछि मंगलबार देशैभर आगजनी र तोडफोड हुन थालेसँगै प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिएका हुन् ।
‘संवत् २०८१ असार ३१ मा नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त भएकोमा हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधानसम्मत राजनीतिक निकासका र समस्या समाधानको थप पहलको लागि संविधानको धारा ७७ (१) क बमोजिम आजैका मितिदेखि लागू हुने गरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु’, ओलीले राष्ट्रपतिलाई सम्बोधन गरेको पत्रमा भनिएको छ । उनको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले तत्कालै स्वीकृत गरेका थिए ।
राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति पौडेलले मंगलबारदेखि जेन–जी नै लागू हुने गरी स्वीकृत गरेका हुन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७७ को उपधारा ३ बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म सोही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने भनी तोकेका छन् ।
सोमबारको प्रदर्शनमा ठूलो मानवीय क्षति भएसँगै सरकार दबाबमा परेको थियो । सोमबार साँझ नै गृहमन्त्री रमेश लेखकले घटनाको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएर मन्त्रिपरिषद् बैठक छाडेका थिए ।
त्योसँगै सत्ता साझेदार दल नेपाली कांग्रेसका नेताहरुले सभापति शेरबहादुर देउवालाई सरकार छाड्न दबाब दिएका थिए । त्यसपछि क्रमशः नेपाली कांग्रेसका तर्फबाट मन्त्री भएका कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारी, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललगायतले राजीनामा दिएका थिए । यसले पनि प्रधानमन्त्री ओलीलाई राजीनामा दिन दबाब बढाएको थियो ।
त्यसमाथि मंगलबार बिहानैदेखि जेन–जी प्रदर्शन सुरु भएको थियो । त्यसयता नेताहरुको घर छानीछानी आगजनी सुरु भयो । प्रधानमन्त्री ओलीको भक्तपुरस्थित बालकोट निवास, कांग्रेस सभापति देउवाको काठमाडौं बुढानीलकण्ठमा रहेको निवाससहित दुवै दलका केन्द्रीय कार्यालयहरुमा समेत आगजनी हुन थाल्यो । योसँगै प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिएका थिए ।