काठमाडौं । ‘जेन–जी’को नाममा मंगलबार राजधानी काठमाडौंलगायत देशका अधिकांश सहरको सरकारी तथा व्यक्तिगत संरचना जलाएर खरानी बनाएपछि मात्र नेपाली सेना ‘नेपाल र नेपाली जनताको हित र सुरक्षा’को लागि भनेर रातिदेखि सडकमा उत्रिएको छ ।
सोमबार प्रहरीको गोलीबाट १९ जनाको ज्यान गएपछि आन्दोलनकारीहरुले मंगलबार बिहानैदेखि आगजनी सुरु गरेका थिए । उक्त आगजनी बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भएपछि थप उत्साहित बन्दै ‘जेन–जी’को नाममा भएको प्रदर्शनका सहभागीहरुले काठमाडौंलगायत देशैभर धमाधम सरकारी तथा व्यक्तिगत संरचनामा आगजनी सुरु गरेका थिए । आगो लगाउने कार्य उनीहरुले राति नौ बजेसम्म पनि जारी राखेका थिए । व्यक्ति तथा सरकारी संरचनामा उनीहरुले छानीछानी आगजनी गरेको प्रष्ट देखिएको छ ।
खासगरी लोकतन्त्रको अभ्यास हुने थलोको रुपमा रहेको संसद् भवन, स्थानीय तह तथा प्रदेशका कार्यालयहरुमा जोशका साथ आगजनी गरिएको भिडियो तथा् फोटोहरुले पुष्टि गरेको छ । आन्दोलनकारीले लोकतन्त्रका आधारस्तम्भको रुपमा रहेको संसद् भवन, राष्ट्रपति कार्यालय, सर्वोच्च अदालत, जिल्ला अदालत, भ्रष्टाचारको विषयमा मुद्दा चल्ने विशेष अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सरकारी वकिलको कार्यालय, केन्द्रीय प्रशासनिक निकाय सिंहदबार मात्र नभई व्यक्तिका सम्पत्तिमा पनि आगजनी गरेका थिए । बहुराष्ट्रिय कम्पनीको लगानी भएका होटल तथा व्यवसायमा पनि आगजनी गरिएको छ ।
‘भ्रष्टाचार र बेथितिविरुद्धको अभियान भने पनि पूर्णतः बेथिति कायम गराएर खबौँ रुपैयाँको भौतिक संरचना ध्वस्त पार्दा मौन बसेर आन्दोलनकारीहरु घरघरमा जान थालेपछि मात्र सेना सडकमा आएको देखिन्छ’, एक राजनीतिक विश्लेषकले आर्थिक दैनिकसित भने, ‘आफ्नै मुख्यालय अगाडि भएको केन्द्रीय प्रशासनिक निकाय सिंहदरबार, सर्वोच्च अदालत, जिल्ला अदालत, विशेष अदालत सडक विभाग, स्वास्थ्य मन्त्रालयमा आगजनी भएर खरानी भएपछि मात्र सेना सडकमा आएको देखियो । सेना सडकमा आउँदा आगजनी गर्नुपर्ने ठाउँ करिब सकिएको थियो ।’
‘जेन–जी’ समूहले परिवर्तन भनेर सबै दलको कार्यालय आगजनी गरेको प्रचार गरे पनि वैचारिकरुपमा अहिलेसम्म प्रष्ट नभएको राष्ट्रिय स्वतन्त्र पार्टी, पूर्वराजावादीहरुको बाहुल्यता रहेको राप्रपाको कार्यालय र पूर्वराजा ज्ञानेन्द्रको निर्मल निवासमा उनीहरुले केही क्षति गरेका थिएनन् । यसले उक्त आन्दोलनमा भएको घुसपैठले लोकतन्त्र पक्षधरलाई सक्ने र निरंकुशताका पक्षधरलाई संरक्षण गरेको देखाएको थियो ।
नेपाली सेनाको मुख्यालय अगाडि नै रहेको र सेना नै बस्ने सिंहदरबारको पश्चिमतर्फको मूलगेटबाट प्रदर्शनकारीले आगलागी गरेर भित्र पस्दा पनि नेपाली सेनाले कुनै वास्ता गरेको थिएन । उल्टै सेनाकै सहयोगमा त्रिभुवन विमानस्थलको भीआईपी कक्षसम्म ‘जेन–जी’का प्रतिनिधिलाई देखाएर फर्काइएको स्रोतको दाबी छ । मंगलबार सरकारी र व्यक्तिगत भौतिक संरचनाहरुमा आगजनी सुरु भएपछि नेपाली सेनाले ती निकायलाई संरक्षण दिन्छ भनेर धेरैले अनुमान गरेका थिए । उक्त अनुमानको ठीक विपरीत सेनाले कतै पनि संरक्षण गर्ने प्रयास नै गरेनन् । यसले नेपाली सेनाले जेन–जीको आन्दोलनमा सहयोग गरेकोजस्तो देखिएको थियो ।
जनधनको रक्षार्थ सेना रातिदेखि परिचालन भएको भनिए पनि खरानी र बलिरहेको आगो मात्र संरक्षण गरेको देखिन्छ । सेनाको गण अगाडि नै रहेको शीतल निवासमा आन्दोलनकारीले आगजानी गर्दा सेनाले कुनै वास्ता गरेको थिएन । राष्ट्रपतिको रक्षार्थ सेना नै खटिने गरेका छन् तर त्यहाँ पनि निर्वाधरुपमा आगजनी भएको छ । सबैतिर आगजनी भएको कारण नयाँ गठन हुने सरकारलाई कार्यालय सञ्चालन गर्ने ठाउँ नै छैन । यसले जेन–जीको नाममा लोकतन्त्रको आधारस्तम्भ पूर्णतः ध्वस्त पारेको देखिएको छ ।
आन्दोलनकारीहरुले सिंहदरबार र सर्वोच्च अदालतको साथै प्रधानमन्त्रीको सरकारी निवास तथा मन्त्रीहरुको सरकारी निवासमा समेत आगजनी गरेका छन् । राष्ट्र बैंकको गेटमा पनि आगजनी गरेका छन् । संसद् भवन, सडक विभाग, स्वास्थ्य मन्त्रालय, सिंहदरबार, नागरिक उड्डयन कार्यालयलगायतमा लागेको आगो नियन्त्रणमा आउन सकेको छैन ।
आन्दोलनकारीले राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुको घरघर छानीछानी आगो लगाएका थिए भने पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित घरमै आगलागी गरेर उनलाई कुटपिट गरेका थिए । आगलागी हुँदा देउवा पत्नी परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि सोही घरमा थिइन् । आन्दोलनकारीहरुले पूर्वप्रधानमन्त्री झलनाथ खनालको घरमा आगलागी गरेर उनकी श्रीमतीको जलाएर हत्या गरिदिएका छन् ।
मंगलबारको प्रदर्शनको क्रममा आन्दोलनकारी र प्रहरीतर्फ कति क्षति पुग्यो भन्ने यकिन भएको छैन । तर, राजीनामा दिएका प्रधानमन्त्री र मन्त्रीहरुलाई सेनाले सुरक्षा दिएर शिवपुरी ब्यारेकमा लगेको बताइएको छ ।