काठमाडौं । जंगीअड्डामा बुधबार बसेको जेनजी प्रतिनिधिहरूको महत्वपूर्ण बैठकले पूर्वप्रधानन्यायाधीश शुशील कार्कीको नेतृत्वमा ‘नागरिक सरकार’ गठन गर्ने प्रस्ताव अघि सारेको छ। बैठकमा तयार भएको प्रस्ताव नेपाली सेनाका प्रमुख अशोकराज सिग्देललाई पठाइएको एक उच्च सैनिक स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार सेनाले कार्कीलाई नेतृत्वमा ल्याउने प्रस्तावबारे गम्भीर छलफल गरिरहेको छ। एक उच्च सैनिक अधिकृतले भने, “उहाँहरूको नाम सिफारिस भएको छ, तर अरू समूहसँग पनि संवाद भइरहेको छ।” सेनाले पूर्वप्रधानन्यायाधीश कार्कीसँग प्रत्यक्ष संवाद गर्ने तयारीसमेत गरेको बताइएको छ।
यसअघि बुधबार बिहान जेनजीका प्रतिनिधिहरू वार्ताका लागि जंगीअड्डा पुगेका थिए। तर १५ जनाभन्दा बढी प्रतिनिधि उपस्थित भएपछि सेनाप्रमुख सिग्देलले उनीहरूलाई आन्तरिक सहमति गरेर संयोजकसहित पुनः आउन आग्रह गरेका थिए। त्यसपछि जंगीअड्डाकै एक कोठामा जेनजी युवाहरूले आन्तरिक छलफल गरेका थिए।
बैठकमा सुरुवाती चरणमा नेतृत्व चयनबारे मतभेद देखिएको थियो। कतिपयले गणतान्त्रिक व्यवस्थामै असहमति जनाउँदै वैकल्पिक संरचना प्रस्ताव गरेका थिए, जसपछि रक्षा बमको समूह बाहिरिएको बताइएको छ। तर अन्ततः कार्कीको नेतृत्वमा ‘नागरिक सरकार’ गठन गर्ने सहमति भएको जेनजी निकट स्रोतले जनाएको छ।
यसैबीच, जेनजी युवाहरूले सामाजिक सञ्जाल डिस्कर्डमा पनि सम्भावित नेतृत्वबारे लामो छलफल गरेका थिए। कार्कीको पक्षमा बलियो समर्थन भए पनि, काठमाडौं महानगरका मेयर बालेन शाहको नाम पनि धेरैले प्रस्ताव गरेका थिए। तर, बालेन शाहसँग प्रत्यक्ष सम्पर्क हुन नसकेको गुनासो राखिएको छ। मंगलबार बेलुकी उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै सेना प्रमुखसँग वार्ताका लागि तयार रहन जेनजी युवाहरूलाई आह्वान गरेका थिए।