काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचीकृत कम्पनीहरूको संख्या दुई सय ७२ पुगेको छ । नेप्सेका अनुसार २०८२ असार मसान्तसम्ममा सूचीकृत कम्पनीहरूमध्ये एक सय ३२ वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, सातवटा होटल, सातवटा लगानी कम्पनी, चारवटा व्यापारिक संस्था र आठ अन्य समूहका रहेका छन् ।
नेप्सेका अनुसार २०८१ असारमा सूचीकृत कम्पनीहरूको सङ्ख्या दुई सय ७० रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ५४ दशमलव पाँच प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५ दशमलव तीन प्रतिशत, लगानी कम्पनीको हिस्सा सात दशमलव सात प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा पाँच दशमलव चार प्रतिशत, व्यापारिक संस्थाको हिस्सा पाँच प्रतिशत, होटेलको हिस्सा दुई दशमलव सात प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा नौ दशमलव आठ प्रतिशत रहेको छ ।
नेप्सेका अनुसार २०८१ असार मसान्तमा २२ सय ४० दशमलव ४१ रहेको नेप्से सूचकांक २०८२ असार मसान्तमा २७ सय ९४ दशमलव ७९ कायम भएको छ । २०८२ असार मसान्तमा धितोपत्र बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब ९९ करोड कायम भएकोे छ । २०८१ असार मसान्तमा बजार पुँजीकरण ३५ खर्ब ५३ अर्ब ६८ करोड रहेको थियो । २०८१ असार मसान्तमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ६२ दशमलव २५ प्रतिशत रहेकोमा २०८२ असार मसान्तमा ७६ दशमलव २५ प्रतिशत रहेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८२ असार मसान्तमा सूचीकृत आठ अर्ब ८२ करोड सेयरको चुक्ता मूल्य आठ खर्ब ६९ अर्ब ८६ करोड रहेको छ । आर्थिक वर्ष २०८१/८२मा ४० अर्ब २१ करोड बराबरको साधारण सेयर, २४ अर्ब ४२ करोड बराबरको बोनस सेयर, १३ अर्ब २३ करोड बराबरको हकप्रद सेयर, एक अर्ब २५ करोड बराबरको म्युचुअल फण्ड, ११ करोड २० लाख बराबरको एफपीओ र तीन अर्ब ९६ करोड बराबरको अन्य सेयर गरी कुल ८३ अर्ब १९ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
नेप्सेका अनुसार समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १५ अर्ब ४१ करोड बराबरको हकप्रद सेयर, १५ अर्ब २० करोड बराबरको म्युचुअल फण्ड, १० अर्ब ६२ करोड बराबरको डिबेन्चर र तीन अर्ब ९३ करोड बराबरको साधारण सेयर गरी कुल ४५ अर्ब १६ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
कर्फ्यु आदेशका कारण नेप्से बन्द
काठमाडौं । कर्फ्यु आदेशका कारण नेप्से बन्द भएको छ । नेपाल सरकार, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौंले भदौ २४ गते बिहान ८ः३० बजेदेखि लागू हुनेगरी काठमाडौं जिल्लाको चक्रपथभित्र कर्फ्यु आदेश जारी गरेको तथा धेरै कारोबार सदस्य तथा लगानीकर्ताहरूबाट समेत कारोबार स्थगन गर्न अनुरोध भई आएकोले सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) अनुसार २०८२ भदौ २४ को सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको नेप्सेले जानकारी दिएको छ ।