गलकोट (बागलुङ) । यस वर्ष बागलुङबाट ५४ लाख रुपैयाँ बराबरको छुर्पी निर्यात भएको छ । दूध र दुग्धजन्य पदार्थको बिक्री वितरण गर्दै आएको बागलुङ दुग्ध उत्पादक सहकारी संघले आर्थिक वर्ष २०८१/८२ मा ५४ लाख ८८ हजार दुई सय ४० रुपैयाँ बराबरको निर्यात गरेको संघका अध्यक्ष दीपक गौतमले बताए ।
अध्यक्ष गौतमका अनुसार बागलुङमा उत्पादित अधिकांश छुर्पी अमेरिका पुग्ने गरेको छ । अमेरिकामा कुकुरको मुख्य खानाका रूपमा रहेको छुर्पी नेपालबाट ठूलो मात्रामा निर्यात हुने गरेको छ । आव २०८०÷८१ मा ३८ लाख ५४ हजार रुपैयाँ बराबरको छुर्पी बिक्री गरेको सहकारीले अघिल्लो वर्षको तुलनामा यस वर्ष १६ लाख रुपैयाँभन्दा बढीको छुर्पी बिक्री गरेको छ ।
दुग्ध सहकारीले यस वर्ष १० करोड ९९ लाख १७ हजार आठ सय ५५ रुपैयाँ बराबरको दूध र दुग्धजन्य वस्तुको कारोबार गरेको छ । उनका अनुसार सहकारीबाट दूध, दही, घ्यु, पनिर, छुर्पी र खुवाको उत्पादन हुँदै आएको छ । त्यसमध्ये अन्तर्राष्ट्रिय बजारमा सहकारीको छुर्पीको माग उच्च छ । छुर्पीको माग बढेपछि संघले एक वर्षमा १६ लाखको छुर्पी उत्पादनमा वृद्धि गरेको हो ।
दुग्ध सहकारी संघले बागलुङका १५ सहकारी संस्थाको दूध सङ्कलन गरेर दूध र दुग्धजन्य वस्तुको बिक्री गर्दै आएका छन् । जसमा एक हजार पाँच सयभन्दा बढी किसान आबद्ध छन् । हाल सहकारी संघले छुर्पी प्रतिकिलो एक हजार दुई सयमा बिक्री गर्दै आएको छ । सहकारीमा आबद्ध किसानले दूधको मूल्यमा समानता र बजारको सुनिश्चिता भएकाले हौसला मिलेको बताएका छन् । सहकारी संघमा १७ कर्मचारीले संकलित दूध बागलुङ बजारका घरघरमै लगेर बिक्री गर्ने गरेको अध्यक्ष गौतमले बताए । यस्तै, आव २०७९/८० मा २९ लाख रुपैयाँको छुर्पी निर्यात गर्न सफल भएको थियो ।