काठमाडौं । राष्ट्रिय व्यावसायिक पहल (एनबीआई) ले युवाहरूको जायज आवाज सुन्ने र दिगो समाधानको प्रक्रिया सुरु गर्न आग्रह गरेको छ ।
एनबीआईले मंगलबार एक विज्ञप्ति जारी गरी उक्त आग्रह गरेको हो । देशभर शान्तिपूर्ण तरिकाले सञ्चालित जेन–जी युवाहरूको आन्दोलनमा सुरक्षा निकायद्वारा बल प्रयोग गरिएकाले ठूलो संख्यामा मानव क्षति भएकोप्रति एनबीआईले गम्भीर खेद प्रकट गरेको छ । संघले जारी गरेको विज्ञप्तिमा हालैका दिनहरूमा प्रहरीको बल प्रयोगका कारण १९ जना प्रदर्शनकारीको मृत्यु र सयौँको संख्यामा घाइते भएको जानकारी सार्वजनिक भइसकेको उल्लेख गर्दै, यस्तो घटनाले नेपालको लोकतान्त्रिक मूल्य, संवैधानिक अधिकार र सामाजिक सद्भावमा गहिरो आघात पु¥याएको बताइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘शान्तिपूर्ण प्रदर्शनमाथि दमन, नागरिक अधिकारको हनन् र युवापुस्ताको आवाजको उपेक्षा गर्ने प्रवृत्तिले देशमा अस्थिरता र अविश्वासको गहिरो संकट निम्त्याएको छ ।’
संघले घटनामा संलग्न व्यक्तिहरूविरुद्ध निष्पक्ष छानबिन गरी कारबाही गर्न, प्रदर्शनकारीबीच संवादको वातावरण सिर्जना गर्न र समस्या समाधानतर्फ अग्रसरता देखाउन, युवाहरूको जायज आवाज सुन्ने र दिगो समाधानको प्रक्रिया सुरु गर्न, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको पूर्ण सुनिश्चितता गर्न र संविधानमा प्रत्याभूत मौलिक हकको रक्षा गर्न, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति लागू गर्दै पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न आग्रह गरेको छ । संघले वर्तमान संकट समाधान गर्न लोकतान्त्रिक मूल्य, न्याय र जवाफदेहिताको स्पष्ट कार्यान्वयनको माग गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालासँग समेत सहयोगको आह्वान गरेको छ ।