सिरिया । सिरियाली सरकारी समाचार संस्था सानाका अनुसार, सोमबार रातिको समयमा इजरायलका लडाकु विमानहरूले सिरियाका विभिन्न स्थानमा हवाई आक्रमण गरेका छन् ।
उक्त आक्रमणबाट केन्द्रीय सिरियाको होम्स, तटीय सहर लाताकिया र ऐतिहासिक मरुभूमि सहर पाल्माइरा प्रभावित भएका छन् । ती स्थानहरूमा ठूलो विस्फोटको आवाज सुनिएको जनाइएको छ । हालसम्म मानवीय क्षति वा भौतिक विनाशसम्बन्धी विस्तृत विवरण सार्वजनिक भइनसकेको जनाइएको छ ।
सिरियाको परराष्ट्र मन्त्रालयले यस कार्यको कडा शब्दमा निन्दा गर्दै यसलाई ’अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको घोषणापत्रको स्पष्ट उल्लङ्घन’ भनेको छ । मन्त्रालयले इजरायली कारबाहीले सिरियाको सार्वभौमिकता र क्षेत्रीय स्थिरतामा प्रतिकूल प्रभाव पारेको बताउँदै, संयुक्त राष्ट्र सुरक्षा परिषद्ले यस्ता आक्रमणहरू तुरुन्त रोक्न आवश्यक कदम चाल्न आग्रह गरेको छ ।