काठमाडौं । जेनजी आन्दोलन चर्किएसँगै देशभर कारागारभित्रकै असन्तोष र आन्दोलनले उग्र रुप लिँदै गर्दा मधेशका तीन कारागारबाट ९८३ कैदीबन्दी फरार भएका छन्। सप्तरीको राजविराज, महोत्तरीको जलेश्वर र रौतहटको गौर कारागारबाट कैदीबन्दीहरूले आगजनी, तोडफोड र आन्दोलन गर्दै भागेका हुन्।
सप्तरीको राजविराज कारागारबाट २०५ कैदीबन्दी भागेका छन्। जसमध्ये ३१ जनालाई नियन्त्रणमा लिन सफल भएको प्रहरीले बताएको छ । दिउँसो करिब १ बजे कैदीबन्दीहरूले कारागारभित्र आगजनी गरेका थिए। प्रहरीहरू आगो निभाउन व्यस्त भइरहेका बेला उनीहरू फरार भएको जनाइएको छ। सीडीओ प्रहरीका अनुसार फरारमध्ये धेरैजना भारततर्फ भागेको आशंका छ।
महोत्तरीको जलेश्वर कारागारबाट मंगलबार साँझ सबै ५७६ कैदीबन्दी भागेका थिए। मधेश आन्दोलनकै क्रममा भएका सशस्त्र प्रहरी सई थमन विक हत्या प्रकरणमा अभियोग लागेका ६ कैदीलाई आन्दोलनकारीहरूले रिहाइ गराउन खोज्दा कारागारमा उत्पात मच्चिँदा सबै कैदीबन्दी भागेका हुन्। रौतहटको गौर कारागारबाट पनि २३३ कैदीबन्दी फरार भएका छन्। २९१ कैदी रहेको कारागारमा तोडफोडपछि २४ जना बाहेक सबै भाग्न सफल भएको प्रशासनले जनाएको छ।यसैबीच, सर्लाहीको मलंगवा कारागारमा आज बिहान कैदीबन्दीहरूले आन्दोलन गर्दै आगजनी गरे पनि सुरक्षा निकायको सतर्कताले भाग्न सफल भएका छैनन्। विवादित धर्मगुरु रामबहादुर बम्जन पनि सोही कारागारमा रहेका छन्। बम्जनका समर्थकहरूले उनलाई छुटाउन कारागारमा आक्रमण गरे पनि सुरक्षा निकायले हवाई फायर र अश्रुग्यास प्रयोग गरेर स्थिति नियन्त्रणमा लिएको हो।
वीरगञ्ज कारागारमा समेत मंगलबार रातिदेखि तनावपूर्ण अवस्था रहेको थियो। भाग्ने प्रयास गर्ने कैदीबन्दीहरूलाई रोक्न नेपाली सेनाले गोलीसमेत चलाएको पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जानकारी दिए।सिरहा कारागार भने अहिलेसम्म शान्त रहेको छ। तर, मधेशका अधिकांश कारागार सदरमुकाम र खुला सीमासँग नजिक रहेकाले धेरै कैदीबन्दी भारततर्फ भागेको आशंका गरिएको छ। देशभर एकपछि अर्को गर्दै जेल तोडफोड, आगजनी र कैदीबन्दी फरार घटनाले समाजमा त्रास र असुरक्षा वातावरण सिर्जना भएको छ। प्रशासनले फरार कैदीहरूको खोजी तीव्र पारेको जनाएको छ।