काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मुलुकमा बढ्दो राजनीतिक अस्थिरता र जेन–जी आन्दोलनको चर्को प्रभावबीच राष्ट्रपति रामचन्द्र पौडेललाई संसद् विघटन गरेर अन्तरिम सरकार गठन गर्न सुझाव दिएका छन्।बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बालेनले जेन–जी आन्दोलनलाई “नयाँ परिवर्तनको क्रान्ति” भन्दै त्यसलाई संरक्षण गर्न तत्काल वैकल्पिक राजनीतिक संरचना आवश्यक रहेको बताएका छन्। बालेनले लेखेका छन्,“देश अन्तरिम सरकारमा जाँदैछ, जसले देशमा नयाँ चुनाव गराउनेछ। अन्तरिम सरकारको मुख्य काम भनेको नयाँ जनादेश लिनु र स्थायी सरकार चयन गर्नु हो।”यस क्रममा उनले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम तथा चुनावी सरकार गठन गर्ने प्रस्तावप्रति समर्थन जनाएका छन्। नेतृत्वमा आउन चाहनेहरूलाई संयमता अपनाउन आग्रह गर्दै बालेनले भनेका छन्,“तपाईंहरूको जोश, तपाईंहरूको सोच र तपाईंहरूको इमानदारीता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन। चुनाव त हुन्छ नै, कृपया हतार नगर्नुहोस्।”बालेनको यो अभिव्यक्तिलाई वर्तमान राजनीतिक सङ्कटबीच मुलुकको सत्ता संरचना परिवर्तन गर्ने सम्भावित संकेतका रूपमा हेरिएको छ।