काठमाडौं । जेन–जी प्रदर्शन चर्किएको दिन मंगलबार व्यापारिक भवनमा लगाइएको आगो बुधबार रातिसम्म अझै बलिरहेको छ । सोमबारको प्रदर्शनमा चरम दमनपछि आक्रोशित भीडबाट सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो ।
सर्वोच्च अदालतमा लगाइएको आगो बुधबार काठमाडौं महानगरपालिकाले दमकल पठाएर निभाए पनि अन्य भवन अझै जलिरहेका छन् । नक्सालको ठूलो भवनमा लगाइएको आगो अझै बलिरहेको छ । सेनाले आगलागीका कारण भवनका सिसा खसेकाले आसपासबाट ओहोरदोहोरमा रोक लगाएको छ ।
त्यसैगरी, नक्साल र महाराजगञ्जका भाटभटेनीमा बुधबार साँझसम्म आगो बलिरहेको छ । सिंहदरबार, संसद् भवनलगायतको आगो निभे पनि दुई दिन भइसक्दा अन्य व्यापारिक भवनमा लागेको आगो निभाउन सेनाले पनि चासो दिएको छैन ।
बुधबारसम्म सेनाले सबै सुरक्षा व्यवस्था आफ्नो नेतृत्वमा लिँदा समेत उपत्यकाका कतिपय स्थानमा लुटपाट भइरहेको बताइएको छ ।