काठमाडौैं । मंगलबार काठमाडौंमा जेन–जी समूहको आन्दोलनको क्रममा धेरै व्यावसायिक प्रतिष्ठानहरुमा आगजनी भएको छ । जेन–जी समूहले आगजनी गर्ने नीति नभएको बताए पनि उनीहरुले नै आह्वान गरेको आन्दोलनमा सहभागीहरुले नेता, कार्यकर्तादेखि विभिन्न व्यावसायिक प्रतिष्ठानमा आगजनी गरेर खर्बौँ रुपैयाँको सम्पत्ति खरानी बनाइदिएका छन् ।
आगजनी गर्ने ग्रुप र व्यक्तिको पहिचान गर्नका लागि सीसी टीभी/क्यामेराले धेरै सहयोग गर्ने छ भने कतिपय पत्रकार स्थानीयले खिचेको र सञ्चारमाध्यममा प्रकाशित÷प्रसारित फोटो तथा भिडियोले पनि सहयोग गर्नेछ । तर, सुरक्षा स्रोतहरुले भने प्रतिस्पर्धी व्यवसायीको उक्साहट र योजनामा पनि कतिपय व्यापारिक प्रतिष्ठानमा आगजनी भएको अनुमान गरेको छ । यद्यपि, राजनीति कसरी अगाडि बढ्छ भन्ने यकिन नै नभएको कारण व्यापारिक प्रतिष्ठान तथा गाडीहरुमा लागेका आगोहरु बुधबार साँझसम्म पनि नियन्त्रणमा आउन सकिसकेको छैन ।
एउटै छानामुनि धेरै व्यवसाय भएको भाटभटेनी सुपरमार्केट देशभर नै आन्दोलनकारी वा प्रदर्शनकारीको निशानामा परेको छ । यसमा राजनीतिभन्दा पनि व्यावसायिक रिस बढी नै भएको अनुमान छ । त्यस्तै, गाडी व्यवसायमा पनि छानीछानी आक्रमण र आगजनी भएको छ । त्यसरी आगजनी गर्ने आन्दोलनकारीको कुनै योजना र उद्देश्य पनि देखिँदैन तर आक्रमण र आगजनी भने भएको छ । सेनाले सुरक्षाको जिम्मा लिँदा पनि व्यावसायिक प्रतिष्ठानमा लुटपाट र आगजनी रोकिन नसक्नुले धेरै आशंका जन्माएको छ ।