काठमाडौैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । आन्दोलनका कारण मङ्गलबार दिउँसोदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार साँझदेखि सञ्चालनमा आएको विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले जानकारी दिए । विमानस्थल सुरु भएपछि अहिले यात्रुहरूको भीड लागेको छ । विमानस्थल सुरक्षा समितिको बैठकले बन्द गरिएको विमानस्थल आज साँझदेखि पुनः सञ्चालन गर्ने निर्णय गरेपछि अहिले विदेश जाने यात्रुहरूको भीड बढेको कार्यालयले भनेको छ, ‘विषम परिस्थितिका कारण यही भदौ २४ गतेबाट बन्द गरिएका हवाई उडानहरुलाई भदौ २५ गते बुधबार बसेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा समितिको अपराह्न ३ः३० बजे बसेको बैठकको निर्णयानुसार पुनः सुचारु गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ ।
हवाई उडानका लागि विमानस्थल आवागमन गर्नुहुने यात्रु महानुभावहरुले आ–आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिई मात्र विमानस्थल आउजाउ गर्नुका साथै यसरी आवतजावत गर्दा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउनु समेत कार्यालयले अनुरोध गरेको छ ।
यसअघि भने बुधबार ११ः ३० मा बसेको बैठकले सार्वजनिक सूचना जारी गर्दै तत्काल एयरपोर्ट नखुल्ने जानकारी दिएको थियो । उपत्यकामा जारी निषेधाज्ञा, कफ्र्यु आदेश, उपत्यकाभित्रको विषम परिस्थितिलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर विमान उडान अवतरण मार्गमा देखिएको धुवाँलगायतले विमानको सुरक्षामा गम्भीर असर पर्न सक्ने देखिएकाले अर्को सूचना नभएसम्मका लागि विमानस्थल बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि पुनः अनुरोध छ, कार्यालयले विज्ञप्तिमार्फत भनिएको थियो ।
विमानस्थल बन्द रहेको अवस्थामा विमानस्थलमा नआइदिन पनि र विमानस्थल खुलेको सूचना पाएपश्चात् सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरी मात्र विमानस्थलमा आउन पनि कार्यालयले भनेको छ । यसअघि मंगलबार बन्द गरिएको विमानस्थल बुधबार १२ बजे खुल्ने गरी बन्द गरिएको थियो । आन्तरिक र बाह्य दुवै उडानहरू अहिले प्रभावित बनेका छन् ।
यसैबीच, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अनिश्चितकालको लागि बन्द गर्नै पहिलो सूचनापछि निजी वायुसेवा कम्पनीहरूले बुधबारदेखि सबै आन्तरिक उडान बन्द गरेका थिए । दुई दिनयता उत्पन्न विषम परिस्थितिका कारण सबै उडान बन्द गरिएको वायुसेवा कम्पनीहरुले जानकारी दिएका छन् । निजी वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले बुधबार विज्ञप्ति जारी गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएपछि मात्र उडान पूर्ववत् सञ्चालनमा आउने जानकारी दिएका हुन् । मुलुकमा सोमबार र मंगलबार भएका आन्दोलन र हिंसाका घटनाका कारण यात्रुहरूलाई विमानस्थल आवतजावतका लागि बाधा उत्पन्न भएको देखिएका कारणले विमानस्थलहरूबाट हुने उडान सबै बन्द गरिएको संघले जानकारी दिएको छ ।
‘विमानस्थल खुल्नासाथ संघका सदस्य वायुसेवा कम्पनीहरूले आफ्ना उडानहरू पूर्ववत् सञ्चालन गर्नेछन्,’ ‘सम्पूर्ण यात्रुहरूलाई सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरी समयमा नै विमानस्थल पुग्न सहयोग गरिदिन अनुरोध छ ।’ विज्ञप्तिमा भनिएको छ ।
वायुसेवा संघमा बुद्ध एयर, यति एयरलाइन्स, सिम्रिक एयरलाइन्स, तारा एयर, सीता एयर, समिट एयर, एयर डाइनेस्टी, माउन्टेन हेली सर्भिसेस, प्रभु हेलिकप्टर्स, सिम्रिक एयरलगायत वायुसेवा कम्पनी सदस्य छन् । संघले केही अराजक तथा उछृङ्खल मनोवृत्तिका व्यक्तिहरूले निजी क्षेत्रबाट सञ्चालित वायुसेवा कम्पनीका कार्यालयमा समेत आगजनी गरेको घटना निन्दनीय भएको समेत जनाएको छ । निगमको विमानस्थल खुला गर्ने दोस्रो सूचनापछि आन्तरिक उडान पनि बिहीबारबाट सुचारु हुने भएको छ ।