काठमाडौैं । बैंकिङ क्षेत्रको कुल चुक्ता पुँजी झण्डै साढे चार खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ५४ वटा संस्थाहरुको कुल चुक्ता पुँजी चार खर्ब ४३ अर्ब ६८ करोड २० लाख रुपैयाँ पुगेको हो । यो चुक्ता पुँजी अघिल्लो आवको तुलनामा सात अर्ब २७ करोड ४० लाख रुपैयाँले बढी हो । अघिल्लो आवमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल चुक्ता पुँजी लघुवित्त वित्तीय संस्थाबाहेक चार खर्ब ३६ अर्ब ४० करोड ८० लाख रुपैयाँ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार गत आवमा वाणिज्य बैंकहरुको मात्र चुक्ता पुँजी तीन खर्ब ८५ अर्ब ३२ करोड ७० लाख रुपैयाँ पुगेको छ । यो चुक्ता पुँजी गत आवको सोही अवधिको तुलनामा छ अर्ब ३० करोड ७० लाख रुपैयाँले बढी हो । अघिल्लो आवको सोही अवधिमा वाणिज्य बैंकहरुको यस्तो चुक्ता पुँजी तीन खर्ब ७९ अर्ब दुई करोड रुपैयाँ रहेको थियो । गत आवमा विकास बैंकहरुको चुक्ता पुँजी भने ४३ अर्ब दुई करोड ४० लाख रुपैयाँ पुगेको छ । यो चुक्ता पुँजी अघिल्लो आवको सोही अवधिको तुलनामा ८५ करोड ३० लाख रुपैयाँले बढी हो । अघिल्लो आवको सोही अवधिमा विकास बैंकहरुको यस्तो चुक्ता पुँजी ४२ अर्ब १७ करोड १० लाख रुपैयाँ रहेको थियो । फाइनान्स कम्पनीहरुले भने पछिल्लो अवधिमा १५ अर्ब ३० करोड रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । यो चुक्ता पुँजी अघिल्लो आवको सोही अवधिको तुलनामा आठ करोड ३० लाख रुपैयाँले बढी हो । अघिल्लो आवको सोही अवधिमा फाइनान्सको यस्तो चुक्ता पुँजी १५ अर्ब २१ करोड ७० लाख रुपैयाँ रहेको थियो ।
बैंक तथा फाइनान्स कम्पनीहरुको कुल शाखा संख्या भने पछिल्लो अवधिमा छ हजार छ सय ५२ वटा पुगेको छ । जसमध्ये वाणिज्य बैैैंकहरुको पाँच हजार ९९, विकास बैंकहरुको एक हजार एक सय ३२ र फाइनान्स कम्पनीहरुको दुई सय ९१ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । अघिल्लो आवको सोही अवधिमा भने बैंक तथा फाइनान्स कम्पनीहरुको कुल शाखा संख्या छ हजार चार सय ७९ वटा रहेको थियो । जसमध्ये वाणिज्य बैंकहरुको पाँच हजार ५६ वटा, विकास बैंकहरुको एक हजार एक सय ३५ वटा र फाइनान्स कम्पनीहरुको दुई सय ८८ वटा शाखाहरु सञ्चालनमा रहेका थिए ।
बैंकिङ क्षेत्रमा सञ्चालनमा रहेका कुल एटीएम काउन्टरको संंख्या भने पछिल्लो अवधिमा पाँच हजार दुई सय ६३ वटा पुगेको छ । जसमध्ये वाणिज्य बैंकहरुको चार हजार आठ सय ७८ वटा, विकास बैंकहरुको तीन सय ४४ वटा र फाइनान्स कम्पनीहरुको ४१ वटा एटीएम काउन्टरहरु सञ्चालनमा रहेको रहेको राष्ट्र बैंकको भनाइ छ । अघिल्लो आवको सोही अवधिमा बैंकिङ क्षेत्रमा कुल पाँच हजार एक सय ९३ वटा एटीएम काउन्टरहरु सञ्चालनमा रहेका थिए । उक्त संख्यामध्येमा वाणिज्य बैंकहरुको चार हजार आठ सय एक वटा, विकास बैंकहरुको तीन सय ४८ वटा र फाइनान्स कम्पनीहरुको ४४ वटा एटीएम काउन्टरहरु सञ्चानलनमा रहेको राष्ट्र बैंकको भनाइ छ ।