काठमाडौं । जेन–जी प्रदर्शनमा सरकारी दमनबाट मृत्यु हुने संख्या बुधबार रातिसम्म ३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो अपडेट सार्वजनिक गरेको हो । मन्त्रालयका अनुसार २८ अस्पतालमा दुई सय ५३ जना घाइतेहरूको उपचार भइरहेको छ ।
प्रदर्शनमा बुधबारसम्म एक हजार ३३ जना घाइते भएका छन् । तीमध्ये सात सय १३ जनालाई उपचारपछि डिस्चार्ज गरिएको छ भने ५५ जनालाई अन्यत्र रेफर गरिएको मन्त्रालयले उल्लेख गरेको छ । सबैभन्दा बढी घाइते सिभिल अस्पतालमा छन् ।
सिभिल अस्पतालमा चार सय ३६ मध्ये तीन सय ४४ जना उपचारपछि घर फर्किएका छन् भने छ जनाको मृत्यु भएको छ । राष्ट्रिय ट्रमा सेन्टरमा एक सय ६१ जना उपचारका लागि भर्ना भएकामा ५८ जना अझै उपचार जारी छ भने आठ जनाको मृत्यु भएको छ । बाँकेको भेरी अस्पतालमा उपचारका लागि आएका २८ घाइतेमध्ये पाँच जनाले ज्यान गुमाएको मन्त्रालयले उल्लेख गरेको छ ।