काठमाडौं । जेन–जी को प्रदर्शनमा भएको दुखद घटनाप्रति नेपाली आमसञ्चार माध्यमहरुको प्रतिनिधिमूलक संस्था मिडिया अलाइन्स नेपालले गहिरो चिन्ता र चासो व्यक्त गर्दै घोर भत्सर्ना गरेको छ । अलाइन्सका अध्यक्ष भाष्कर राज राजकर्णिकारले जारी गरेको विज्ञप्तीमा यस किसिमको अमानवीय र क्रूर दमन कुनै हालतमा पनि सैह्य नहुने भन्दै घोर विरोध गरिएको छ ।
विज्ञप्तीमा अनाहकमा ज्यान गुनाउनु परेका युवाहरुलाई श्रदाञ्जलि व्यक्त गर्दै दिवंगतका परिवारजनप्रति समवेदना र घाइते अन्य सबैमा शीघ्र स्वास्थ्यलाभको कामना गरिएको उल्लेख छ ।
सोमबार जस्तो घटना घट्यो यो हाम्रो देशको इतिहासमा ’कालो दिन’का रुपमा दर्ज हुनेछ । आफ्नो जायज जिम्मेवारीका साथ सामाजिक सञ्जालमाथिको निष्क्रियता खोल्नुपर्ने र व्याप्त भ्रष्टाचारविरुद्ध शान्तिपूर्ण प्रदर्शनका लागि भेला भएका २८ वर्ष मुनिका जेन–जी युवाहरुको आन्दोलन रक्त आहालमा परिवर्तन हुनु जुनसुकै पक्षबाट भएको भए पनि अक्षम्य अपराध भएको विज्ञप्तीमा उल्लेख छ ।
शान्तिपूर्ण प्रदर्शन गर्न र वाक् स्वतन्त्रताको संविधान प्रदत्त अधिकारमाथि निर्लज्ज प्रहार भएको मिडिया अलाइन्स नेपालले यसको प्रतिक्रिया स्वरुप भाद्र २४ गते मंगलबार भएको घटनामा भएको राष्ट्रिय क्षति अब रोकिनुपर्नेमा जोड दिएको छ । नागरिक सर्वोच्चता, प्रेस स्वतन्त्रता, मानव अधिकार र विधिको शासन र प्रजातन्त्र सधैँ हाम्रो अनिवार्य सर्त भएको भन्दै यसका लागि सधैँ लडिरहेको र अनन्तसम्म प्रतिबद्ध रहिरहने उल्लेख छ ।
‘यस्तो कठिन परिस्थितिमा नेपालका आमसञ्चारका माध्यमहरुले कुनै पक्षविपक्षको पक्षधारितामा भन्दा निष्पक्ष खबर सम्प्रेक्षण र मानव अधिकार रक्षा अनि जनताको हक हितका लागि लागिपर्नु पर्ने भएको छ’, विज्ञप्तिमा उल्लेख छ, ‘हामी सबै सम्बन्धित पक्षसँग संयमित भई सबै समस्यालाई विधि सम्मत ढंगबाट समाधान गर्न आग्रह गर्दछौँ । मिडिया अलाइन्स नेपाल सधैँ विधिको शासन र स्वतन्त्र प्रेसको पक्षमा अडिग रहेको तथ्य समेत जाहेर गर्दै उक्त उद्देश्य प्राप्तिका लागि समर्पित रहने प्रतिबद्धता समेत व्यक्त गर्दछौँ ।’