काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयरमा आवेदन दिने अवधि थप गरेको छ । कम्पनीले यही भदौ तीन गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन दिन अवधि थप गरेको हो । कम्पनीको एक सय प्रतिशत हकप्रद सेयरमा अब भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले हाल कायम एक कित्ता सेयर बराबर नयाँ एक कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ४६ करोड ५७ लाख १४ हजार तीन सय रुपैयाँ बराबरको ४६ लाख ५७ हजार एक सय ४३ कित्ता हकप्रद सेयर निष्काशन गरेका छ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार २७ गते बुकक्लोज गरेको थियो । यस अनुसार असार २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा भदौ २३ गतेसम्म आवेदन दिन सकिनेछ ।
हकप्रद निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी सिंगल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कुमारी बैंकको ललितपुर, सिटिजन्स बैंक इन्टरनेसनलको कुमारीपाटी, ठीमी, विराटनगर, बिर्तामोड, विरगंज, सुर्खेत, जनकपुर, नेपालगंज, नारायणगढ, धनगढी, पोखरा, बुटवल र हेटौँडा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सी–आस्बा प्रणालीमार्फत तथा सीडीएस एन्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीको हाल ४६ करोड ५७ लाख १४ हजार तीन सय रुपैयाँ चुक्ता पुँजी रहेकोमा हकप्रद सेयरको निष्काशन तथा बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पुँजी ९३ करोड १४ लाख २८ हजार छ सय रुपैयाँ पुग्नेछ ।