काठमाडौं । नेपाल प्रहरीले हालैको आन्दोलनका क्रममा लुटिएका हातहतियार, सञ्चार साधन, सवारी साधन, असबाब र अन्य भौतिक सामग्री फिर्ता गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।प्रहरी प्रधान कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा भदौ २३ गतेदेखि २५ गतेसम्म भएको प्रदर्शनका क्रममा नियन्त्रणमा लिइएका वा कतै फेला परेका सामान तुरुन्त फिर्ता बुझाउन अनुरोध गरिएको छ।
सुरक्षा निकायसँग सम्बन्धित सामग्री फिर्ता गर्न स्थानीय प्रहरी वा सुरक्षा कार्यालय, जिल्ला प्रहरी कार्यालय, प्रहरी कन्ट्रोल (१००), टोल–फ्रि नम्बर १६६००१४१५१६ वा नेपाल प्रहरी प्रधान कार्यालयको सम्पर्क नम्बर ९८५१२९३४५९ मा सम्पर्क गर्न सकिने जनाएको छ। प्रहरीले प्रदर्शनका क्रममा नियन्त्रणमा लिइएका प्रहरी पोशाक र अन्य सामग्री दुरुपयोग नगर्न पनि चेतावनी दिँदै, सोसँग सम्बन्धित कुनै जानकारी भएमा तुरुन्तै खबर गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।