काठमाडौँ । होटल संघ नेपाल (हान) ले नेपालमा जारी निषेधाज्ञा र विमानस्थल बन्दका कारण पर्यटकहरुको भ्रमण अनिश्चित बनेकोले पर्यटक आवागमन सहज बनाउन आवश्यक पहल गर्न आग्रह गरेको छ ।
हानले एक विज्ञप्ति जारी गरी देशको छवि र पर्यटनको भविष्यसँग प्रत्यक्ष जोडिएको विषय रहेकाले यसतर्फ ध्यान दिन आह्वान गरेको हो । हानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विद्यमान विषम परिस्थितिबाट उत्पन्न समस्या छिटो व्यवस्थापन गर्नु देशको छवि र पर्यटनको भविष्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसमा सम्बन्धित सबै पक्षको सक्रियता आवश्यक छ ।’
आसन्न चाडपर्व र नयाँ पर्यटकीय सिजन सुरु हुन लागेको अवस्थामा अत्यधिक र अप्रत्याशित क्यान्सिलेसन बढ्दै गएको संघले जनाएको छ । यसलाई रोक्न होटल तथा आतिथ्य क्षेत्र तदर्थ सक्रिय भए पनि सरकार र सरोकारवाला निकायबाट प्राथमिक पहल आवश्यक भएको संघको भनाइ छ । संघले होटल तथा निजी–सार्वजनिक सम्पत्तिमा भइरहेको आगजनीप्रति चिन्ता व्यक्त गर्दै यस्तो विनाश अन्ततः देशकै स्रोत–साधनमा अतिरिक्त बोझ हुने भएकाले तत्काल रोक्न सबैलाई अपिल गरेको छ ।
हानले वर्तमान परिस्थितिबाट प्रभावित पर्यटकहरुको व्यवस्थापन तथा सहजीकरणका लागि नेपाल पर्यटन बोर्ड र नेपाली सेनासँग सहकार्य गर्दै आएको जनाएको छ । साथै, अलपत्र परेका पर्यटकले आवश्यकताअनुसार आवास व्यवस्थापनका लागि संघको हटलाइन ९८५१०३१४९५ मा सम्पर्क गर्न सक्ने जानकारी दिइएको छ ।