केपटाउन । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आफ्नो सरकारले निष्पक्ष व्यापार र लगानी सम्झौता सुनिश्चित गर्न अमेरिकासँग सक्रियताका साथ काम गरिरहेको बताएका छन् । सिन्ह्वाका अनुसार संसद्मा प्रश्नको जवाफ दिँदै रामाफोसाले दक्षिण अफ्रिकी सरकारका प्रतिनिधिहरू अहिले थप औपचारिक वार्ताका लागि संयुक्त राज्य अमेरिकामा रहेको बताएका हुन् ।
‘हाम्रा नागरिक सरकारको दृष्टिकोणबाट पूर्णरूपमा उत्साहित छन्’, उनले भने, ‘व्यापार, उद्योग र अन्तर्राष्ट्रिय सम्बन्धमामिला मन्त्रीहरू छलफललाई अगाडि बढाउन उनीहरूसँग सामेल हुनेछन् । उनीहरूले प्रशासनका प्रतिनिधिहरू, विधायकहरू, व्यापारिक व्यक्तिहरू र अन्यसहित धेरै सरोकारवालाहरूसँग भेट गरिरहेका छन् ।’
राष्ट्रपति ट्रम्पले अमेरिकासँग निरन्तर वार्तामा संलग्नताको उद्देश्य पारस्परिक लाभको व्यापार र लगानी सम्झौता सुरक्षित गर्नु रहेको उल्लेख गर्दै सरकारले निर्यातकर्ता, आयातकर्ता, ट्रेड युनियन र निजी क्षेत्रसँग परामर्श गरेर वार्ताको मार्ग रोजेको उल्लेख गरे ।
‘हाम्रो विकल्पले हामी के प्राप्त गर्न चाहन्छौँ भनेर सूचित गर्दछ । हाम्रो उद्देश्य सकेसम्म संयुक्त राज्य अमेरिकामा निर्यात जारी राख्नु हो र कम्पनीहरूलाई पनि संयुक्त राज्य अमेरिकामा लगानी गर्न सक्षम पार्नु हो, हामीले अमेरिकी कम्पनीहरूलाई पनि देशमा लगानी गर्न लगाउने पहल जारी राख्नेछौँ ।’ रामाफोसाले भने । उनले दक्षिण अफ्रिकाले देशको खनिज सम्पत्ति र प्रशोधन क्षमतालाई औँल्याउँदै महत्वपूर्ण लाभका लागि वार्तामा प्रवेश गरेको बताए ।
उनले भने, ‘हामी अहिले संयुक्त राज्य अमेरिकासँग जुन छलफल गरिरहेका छौँ, त्यो पनि दक्षिण अफ्रिकासँग भएका महत्वपूर्ण खनिजहरू र ती खनिजहरूलाई प्रशोधन गर्ने हामीसँग भएको क्षमताको वरिपरि रहेको छ ।’ रामाफोसाले अमेरिकी प्रशासन कहिलेकाँही ‘अप्रत्याशित’ र ‘प्रतिशोधात्मक’ हुन सक्ने तर वार्ताको माध्ययमले सकारात्मक परिणाम दिने बताए ।
उनले भने, ‘यो एक रणनीति हो जुन हामीले रोजेका छौँ, वार्तामा संलग्नताको रणनीतिले हामीलाई लाभ हुने विश्वास छ र यसले परिणाम दिनेछ । कहिलेकाहीँ अमेरिकी प्रशासन अप्रत्याशित हुन्छ र प्रतिशोध लिन्छ तर हामी उसँग याचना नगरी, घुँडा नटेकी व्यापार वार्तालाई सफल बनाउनेछौँ ।’ दक्षिण अफ्रिकाले दादागिरी नगर्ने बताउँदै उनले सार्वभौम देशको रूपमा उभिने र वार्ता गर्ने बताए ।