काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान नियमित भएको छ । जेनजी प्रदर्शनपछि बन्द गरिएको उडान बुधबार विमानस्थल सञ्चालनमा आएसँगै नियमित भएको हो ।
विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले बुधबार साँझदेखि नै विमानस्थलमा नियमित उडान भइरहेको आर्थिक दैनिकलाई जानकारी दिए । ‘विगतका दिनहरुमा जस्तै आन्तरिक र अन्तर्राष्ट्रिय उडान सामान्य रुपमा सञ्चालन भइरहेको छ । यात्रु आवागमनलाई सहज तुल्याउन सुरक्षा निकायसँग समन्वय गरिएको छ’, उनले भने ।
विमानस्थलको हालको उडान तालिकाभन्दा उडान थप्नसक्ने अवस्था नरहेको र विगतकै क्षमतामा हवाइ उडान नियमित गरिने उनको भनाइ छ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी रहेकाले हवाइयात्रुलाई परिचय खुल्ने कागजातका आधारमा आवतजावतमा सहजीकरण गरिएको विमानस्थलले जनाएको छ ।
नेपाल पर्यटन बोर्डले सटल बसको व्यवस्था गरी विदेशी पर्यटकलाई गन्तव्यमा पुर्याइने जनाएको छ । यता वायुसेवा कम्पनीहरुले पनि आफ्ना यात्रुलाई विभिन्न व्यवस्था गरेर गन्तव्य लगिरहेका छन् । निजी क्षेत्रको हवाइ कम्पनी बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार बिहीबार बिहानदेखि नियमित रुपमा उडानहरु भइरहेका छन् । काठमाडौँ र बाहिरका गन्तव्यमा दुई÷तीन दिनदेखि रोकिएका यात्रुलाई लैजानुपर्ने अवस्था रहेको उनले बताए ।
‘जेनजी प्रदर्शन’का कारण २४ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको थियो । विमानस्थल सुरक्षा समितिको बैठकको निर्णयअनुसार बुधबार दिउँसो ३ः३० बजेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान पुनः थाल्ने निर्णय गरिएको थियो । बुधबार साँझदेखि नै आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सञ्चालन भइरहेका छन् ।
विमानस्थलले हवाइ उडानका लागि विमानस्थल आवागमन गर्ने यात्रुले आ–आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिएर विमानस्थल आउन अनुरोध गरेको छ । साथै यसरी आवतजावत गर्दा आधिकारिक हवाइ टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउन समेत भनिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर दैनिक तीन सयभन्दा बढी उडान हुन्छ । यसमध्ये आन्तरिकतर्फ दुई सय ५० वटाभन्दा बढी र अन्तर्राष्ट्रियमा दैनिक एक सयवटा हाराहारी उडान हुन्छ ।
विमानस्थल बिहान ६ बजेदेखि राति १ बजेसम्म सञ्चालन हुँदै आएको छ । आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनीले सेवा दिइरहेका छन् । अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाइ कम्पनीले उडान भर्दै आएका छन् ।