काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरूले विपन्न वर्गमा कर्जा प्रवाह घटाउँदै लगेका छन् । वाणिज्य बैंक, विकास बैंक र फाइनान्ससहितका ५४ कम्पनीहरूले आर्थिक वर्ष २०८१/०८२ मा विपन्न वर्गमा मात्र कुल दुई खर्ब ९६ अर्ब २६ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेका हुन् ।
यो कर्जा बैंकिङ क्षेत्रले गत आवमा प्रवाह गरेको कुल कर्जा ५५ खर्ब ८१ अर्ब २० करोड २० लाख रुपैयाँमध्येको पाँच दशमलव ५२ प्रतिशत हो । बैंक तथा फाइनान्स कम्पनीहहरूले आव २०८१/०८२ मा विपन्न वर्गमा प्रवाह गरेको कर्जा रकम अघिल्लो आवको सोही अवधिको तुलनामा शून्य दशमलव नौ प्रतिशत अर्थात् १५ अर्ब ९२ करोड ६० लाख रुपैयाँले कम हो ।
अघिल्लो आवमा उनीहरूले कुल ५१ खर्ब ६१ अर्ब ७१ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा छ दशमलव ४२ प्रतिशत अर्थात् तीन खर्ब १२ अर्ब १८ करोड ६० लाख रुपैयाँबराबरको कर्जा विपन्न वर्गमा प्रवाह गरेका थिए । वाणिज्य बैंकहरूले मात्र भने आव २०८१/०८२ मा कुल ४९ खर्ब ५० अर्ब ४० करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा पाँच दशमलव ४० प्रतिशत अर्थात दुई खर्ब ५६ अर्ब ७८ करोड ४० लाख रुपैयाँ बराबरको कर्जा विपन्न वर्गमा प्र्रवाह गरेका छन् ।
यो कर्जा अघिल्लो आवको तुलनामा शून्य दशमलव ६३ प्रतिशत अर्थात् १० अर्ब ५७ करोड ६० लाख रुपैयाँले कम हो । अघिल्लो आवमा वाणिज्य बैंकहरूले कुल ४५ खर्ब ६० अर्ब ५८ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा छ दशमलव शून्य तीन प्र्रतिशत अर्थात् दुई खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँबराबरको कर्जा विपन्न वर्गमा प्रवाह गरेका थिए ।
विकास बैंकहरूले भने आव २०८१/०८२ मा पाँच खर्ब २६ अर्ब ६१ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा छ दशमलव ६१ प्रतिशत अर्थात् ३३ अर्ब ९२ करोड ४० लाख रुपैयाँबराबरको कर्जा विपन्न वर्गमा प्रवाह गरेका थिए । यो कर्जा अघिल्लो आवको तुलनामा एक दशमलव १३ प्रतिशत अर्थात् चार अर्ब १४ करोड ४० लाख रुपैयाँले कम हो । अघिल्लो आवमा विकास बैंकहरूले पाँच खर्ब एक अर्ब १४ करोड ३० लाखबराबरको कर्जा प्रवाह गर्दा विपन्न वर्गमा मात्र सात दशमलव ७४ प्रतिशत अर्थात् ३८ अर्ब छ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
फाइनान्स कम्पनीहरूले पनि गत आवमा कुल एक खर्ब चार अर्ब १८ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा पाँच दशमलव ४८ प्रतिशतका दरले हुन आउने पाँच अर्ब ५५ करोड २० लाख रुपैयाँबराबरको कर्जा विपन्न वर्गमा प्रवाह गरेका छन् । यो कर्जा अघिल्लो आवको सोही अवधिको तुलनामा एक दशमलव ७९ प्रतिशत अर्थात एक अर्ब २० करोड ६० लाख रुपैयाँले कम हो । अघिल्लो आवमा फाइनान्स कम्पनीहरूले कुल ९९ अर्ब ६९ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सात दशमलव २७ प्रतिशतका दरले हुन आउने छ अर्ब ७५ करोड ८० लाख रुपैयाँ बराबरको कर्जा विपन्न वर्गमा प्रवाह गरेका थिए ।