धनगढी । रोजगारीका सिलसिलामा भारत प्रवेश गर्नका लागि युवाहरू घर फर्केका छन् । जेन–जीको आन्दोलनपछि भारतसँग जोडिएका सुदूरपश्चिमका सीमा नाकामा चेकजाँचमा कडाइ गरेपछि भारत भारत प्रवेश गर्न लागेका युवाहरू घर फर्केका हुन् ।
कैलालीको गौंरीफन्टा र कञ्चनपुरको गड्डाचौकीलगायतका सीमा नाकामा चेकजाँचमा कडाइ गरिएको हो । जेन–जीको आन्दोलनसँगै सुदूरपश्चिमका जिल्लाहरूको कारागारबाट फरार भएका कैदीबन्दीहरूलाई नियन्त्रणका लागि पनि नाका बन्द गरिको छ । सीमानाकाबाट भाग्न सक्ने आशंकामा नाकामा चेकजाँच बढाइएको हो । नेपाल प्रहरीकाअनुसार कैलालीसहित सुदूरपश्चिमका आठ जिल्ला कारागारका करिब १४ सय कैदीबन्दी भागेका छन् । उनीहरूलाई पक्राउ गर्नका लागि सुरक्षाकर्मी परिचालन भएका छन् । नाकामा चेकजाँच बढाएपछि भारतबाट फर्किने र भारत जाने सर्वसाधारणले सास्ति खेप्नुपरेको छ । अहिले भारतबाट फर्किने नागरिकलाई नेपाली परिचयपत्र अनिवार्य गरिएको छ भने भारततर्फ जानेको हकमा पनि भारतीय आधार कार्डलगायतका कागजपत्र अनिवार्य गरिएको छ ।
रोजगारीका लागि भारत जान गौरीफन्टा नाका पुगेका परशुराम नगरपालिकाका हेमन्त चुहानले आधार कार्ड नभएका कारण नाकाबाट प्रवेश गर्न नपाएको बताए । ‘भारतीय आधार कार्डको फोटोकपी देखाए तर सक्कल नै चाहिन्छ भनेपछि जान पाएको छैन्’, उनले भने, ‘जान दिन्छ कि भनेर आग्रह गर्दैछौँ ।’ भारतबाट फर्किएका डडेल्धुराका हुकुमे बोहराले सामान्य समयभन्दा चेकजाँचमा कडाइ गरेको बताए । उनका अनुसार भारतीय सुरक्षाकर्मी र नेपाली सुरक्षाकर्मीले नेपाली परिचयपत्र देखाएपछि मात्र आउन दिएका थिए । नेपालका निषेधाज्ञा र कफ्र्यु लागेका कारण भारतबाट फर्किनेहरू भने बाटोमै अलपत्र परेका छन् । सीमानाकाबाहेकका क्षेत्रको अवस्था भने समान्य रहेको छ । नेपाली सेना परिचालन भएकाले धनगढी लगायतका सहरी क्षेत्र सुनसान छ । अहिले सडकमा नागरिकहरूको आउजाउ देखिएको छैन ।