काठमाडौं । नेपाल राष्ट्र बैंकले पछिल्लो एक वर्षमा २४ हजार छ सय ५१ अर्ब रुपैयाँभन्दा बढी रकमको तरलता प्रशोचन गरेको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ मा स्थायी निक्षेप सुविधामार्फत २१ हजार पाँच सय आठ अर्ब ४० करोड र निक्षेप संकलन बोलकबोलमार्फत तीन हजार एक सय ४२ अर्ब ९५ करोड गरी कुल २४ हजार छ सय ५१ अर्ब ३५ करोड रुपैयाँबराबरको तरलता प्रशोचन गरिएको हो ।
राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले पटक–पटक गरी ओभरनाइट तरलता सुविधामार्फत दुई अर्ब ७० करोड तरलता उपयोग गरेका छन् । फलस्वरूप, समीक्षा वर्षमा खुद २४ हजार छ सय ४८ अर्ब ६५ करोड तरलता प्रशोचन भएको राष्ट्र बैंकले जानकारी दिएको छ । अघिल्लो आर्थिक वर्षमा खुला बजार कारोबार र स्थायी तरलता सुविधालगायतका विभिन्न उपकरणमार्फत खुद ३८ सय ६८ अर्ब ८४ करोड तरलता प्रशोचन गरिएको थियो । समीक्षा वर्षमा राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू)बाट अमेरिकी डलर पाँच अर्ब ८३ करोड खुद खरिद गरी सात सय ८७ अर्ब तरलता प्रवाह गरेको छ । अघिल्लो वर्ष विदेशी विनिमय बजारबाट अमेरिकी डलर पाँच अर्ब ८९ करोड खुद खरिद गरी सात सय ८३ अर्ब ४७ करोड तरलता प्रवाह गरिएको राष्ट्र बैंकको भनाइ छ । समीक्षा वर्षमा अमेरिकी डलर चार अर्ब १६ करोड बिक्री गरी पाँच सय ६७ अर्ब ६१ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्ष अमेरिकी डलर चार अर्ब दुई करोड बिक्री गरी पाँच सय ३५ अर्ब ७ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको राष्ट्र बैंकको भनाइ छ ।
राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा नेपाल सरकारको ब्याज अनुदानमा बैंक तथा वित्तीय संस्थामार्फत प्रवाह भएको सहुलियतपूर्ण कर्जा २०८२ असार मसान्तमा कुल ९४ हजार नौ सय २० ऋणीलाई प्रवाह भएको ७८ अर्ब ६६ करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपन्छी व्यवसाय कर्जाअन्तर्गत ३५ हजार आठ सय ६१ ऋणीलाई प्रवाह भएको ५७ अर्ब ५५ करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ५७ हजार छ सय ३६ महिला उद्यमीलाई प्रवाह भएको २० अर्ब नौ करोड कर्जा रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत एक हजार चार सय २३ ऋणीको एक अर्ब दुई करोड कर्जा बक्यौता रहेको राष्ट्र बैंकको भनाइ छ ।