काठमाडौं । असुरक्षा र अनिश्चितता बढिरहेको वर्तमान परिस्थितिमा प्रविधि अनुसन्धान संस्था ‘रामलक्ष्मण’ले नेपाली समुदायका लागि निःशुल्क सामुदायिक सुरक्षा सेवा सुरु गरेको छ ।
मोबाइल एप ‘कताहो’मार्फत प्रदान गरिने यो सेवा विसं २०८२ साल असोज मसान्तसम्म निःशुल्क उपलब्ध गराइने संस्थाले जनाएको छ । रामलक्ष्मण समूहका अनुसन्धानकर्ता तथा प्रविधि विकासकर्ता लक्ष्मणप्रसाद रिमालका अनुसार, यो सेवा विशेषगरी परिवार र टोलमा आकस्मिक अवस्थाको सूचना तुरुन्तै आदानप्रदान गर्न लक्षित गरिएको हो । ‘कताहो’ एप एन्ड्रोइड र आइफोन दुवैमा उपलब्ध छ ।
यसमा भएको परिवार सुरक्षा सुविधामा प्रयोगकर्ताले एपमा दुई जना परिवार सदस्यको नम्बर दर्ता गर्न सक्छन् । आपत्कालीन अवस्थामा ‘इमर्जेन्सी बटन’ थिच्नेबित्तिकै दुवै सदस्यको मोबाइलमा सूचना पुग्नेछ । तर, उनीहरूको मोबाइलमा पनि ‘कताहो’ एप दर्ता भएको हुनुपर्नेछ । यस्तै सामुदायिक सुरक्षा सुविधा भने २०–३० जनासम्मको समूह (परिवार, छिमेक, कार्यालय वा साथीहरू) मिलेर यो सेवा प्रयोग गर्न सकिन्छ । समूहमा समस्या देखिएमा साइरन बजाएर वा कोड प्रयोग गरी सबै सदस्यलाई एकैपटक सूचना पठाउन सकिन्छ ।
रामलक्ष्मण समूहका अनुसार, यो सेवा २०८२ सालको असोज मसान्तसम्म ३० सदस्यसम्मको समूहले निःशुल्क प्रयोग गर्न सक्नेछ । आपतकालीन सूचना पठाउँदा प्रयोगकर्ताले एपमार्फत सटीक ठेगाना पनि समावेश गर्न सक्ने सुविधा छ । २७ वर्षदेखि प्रविधि क्षेत्रमा क्रियाशील रामलक्ष्मण समूहले यसअघि सार्क सम्मेलनका लागि मोबाइल जामर, कोरोना महामारीमा थर्मोग्राफिक क्यामेरा, र स्वदेशी मतदान प्रणालीजस्ता प्रविधिहरू विकास गरिसकेको छ ।