दाङ । पछिल्लो समय यहाँ बासस्थान खलबलिदा चराको संख्या घट्दै गएको छ । यहाँ कतिपय चराको संख्या न्यून भइरहेको छ भने केही चरा लोपोन्मुख अवस्थामा पुगेका छन् ।
घोराही उपमहानगरपालिका–९ निवासी ७२ वर्षीया पार्वता शर्मा चराको संख्या कम हुँदै गएको बताउँछिन् । उनले भनिन्, ‘पहिले गाउँमा (खर) फुसका छाना हुन्थे, चराले त्यसैमा गुड बनाएर बचेरा कोरल्ने र हुर्काउने गर्थे । बिहान मिर्मिरेमा चराको चिरबिर आवाज गुन्जिँदा छुट्टै आनन्द हुन्थ्यो । कहिलेकाहीँ चराको आवाजले बिहानीको निद्रा खुल्ने गथ्र्याे ।’ उनलाई अझै सम्झना छ, केही समयअघि आँगनभरी थरीथरीका चारा आउँथे । मंसिरमा आगनमा धान ल्याएपछि चराहरू झन थपिँदै जान्थे । पछिल्लो समय चराको चिरबिर कम भएको शर्माले बताइन् । चराको बासस्थान खलबलिएकाले अचेल त्यस्तो आवाज खासै नसुनिने गरेको उनको भनाइ छ ।
घोराही उपमहानगरपालिका–६ का ६५ वर्षीय वीरबहादुर चौधरीले चराको बासस्थान घट्दै गएका कारण संख्या पनि कम हुँदै गएको बताए । ‘भँगेराको चिरबिर र कोइलीको कुहुकुहु आवाज हराउँदै गएको छ । पक्की घरका कारण पनि घरमा बस्दै आएका चरा कम भएका छन् । गौथली, परेवा, भँगेरा, मैनाजस्ता चराले फुसको छानोमा गुड बनाउने गर्थे । अहिले सबै घर पक्की भएपछि गुड लगाउने ठाउँको कमी भएको छ’, उनले भने । एकातिर रुख हुने स्थानमा घरैघर छन्, भएका घर पनि सिमेन्टले बनेका चरामैत्री छैनन् । जसले गर्दा समस्या आएको धेरैको भनाइ छ । चराविज्ञ आनन्द चौधरी रैथाने चराको संख्यामा कमी आएको बताउँछन् । चराहरू बसाइँसराइ गर्ने र आगन्तुक चरा नेपालमा आउने क्रम भने बढेको उनको भनाइ छ । यसरी आउने आगन्तुक चराका लागि यतै बस्ने वातावरण मिलाउनसके चराको संख्या बढ्ने चौधरीको बुझाइ छ ।
‘चराहरू लामो यात्राको प्रयास गर्ने, आराम गर्ने त छँदैछ, पछिल्लो समय जलवायु परिवर्तनका हिसाबले पनि समस्या भयो । चरा संकटमा पर्नुका प्रमुख कारणमध्ये बासस्थानको विनाश, जलवायु परिवर्तन, भौतिक पूर्वाधार पनि हुन्’, उनले भने, ‘चरा खतराको सूचक मात्रै होइन, अवसर पनि हो । यिनको संरक्षणका लागि सोच्नुपर्ने आवश्यकता छ ।’ यसका लागि सरकारी निकाय, स्थानीय र आदिवासी समुदायसँग सहकार्य गर्दै चरा तथा जैविक विविधता क्षेत्रको महत्वबारे आम नागरिकलाई जानकारी गराएर संरक्षण अभियान सञ्चालन गर्नुपर्ने चराविज्ञ चौधरीको धारणा छ । आगन्तुक चराका लागि अतिआवश्यक बासस्थानको पहिचान, अनुगमन र संरक्षण सुनिश्चित गर्ने, जनसमुदायलाई सचेत बनाउने विषयमा सबैले लाग्नुपर्ने उनको सुझाव छ ।