काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले मुलुकमा थप निराशा र अशान्तिको वातावरण निर्माण नगर्न सबैसँग अपिल गरेको छ ।
महासंघले मर्यादित रोजगारी, स्वरोजगारी, सर्वसाधारण एवं उद्यमी व्यवसायीले तिरेको राजस्वको सदुपयोगलगायतका विषयमा युवा पुस्ताले देखाएको चासोप्रति संवेदनशील हुन पनि सरकार, राजनीतिक दललगायत सम्बन्धित सबैलाई आग्रह गरेको छ । ‘मुलुकमा थप निराशा र अशान्तिको वातावरण कही कतैबाट पनि सिर्जना नहोस् र शान्तिपूर्ण आन्दोलन र त्यसक्रममा अनावश्यक बल प्रयोग नहुनेतर्फ पनि महासंघ सम्बद्ध सबैको ध्यानाकर्षण गराउन चाहन्छ’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
सामाजिक न्यायसहितको उच्च आर्थिक वृद्धिको वातावरण निर्माण गरेर मात्र उच्च ज्यालासहितको मर्यादित रोजगारी सम्भव रहेको महासंघको भनाइ छ । आर्थिक गतिविधि चलायमान बनाउन र मुख्य पर्यटकीय समयमा नेपालबाट सकारात्मक सन्देश विश्वभर प्रवाह गर्न सबैले संयमित भई संवाद र सहकार्यका माध्यमबाट समृद्धितर्फको यात्रा तय गर्नुपर्नेमा महासंघले जोड दिएको छ । मुलुकभर जेन जी पुस्ताले विभिन्न सुधारका माग राखी सञ्चालन गरेको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति महासंघ गहिरो दुःख पनि व्यक्त गरेको छ । आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन पनि महासंघले सबैसँग अपिल गरेको छ ।
युवाहरुको चाहनाअनुरुप नागरिकको सरकारी सेवामा सहज र मर्यादित पहुँच, स्वतन्त्र भएर पेसा व्यवसाय गर्न पाउने अधिकारको सुनिश्चिततासँगै लगानी एवं रोजगारी प्रवर्द्धनका लागि उपयुक्त वातावरण सिर्जना गरी समुन्नत समाज निर्माणमा योगदान पुर्याउन महासंघले सरोकारवाला सबैमा आग्रह गरेको छ ।