मस्को । रूसको पहिलो एआईको सहयोगमा चल्ने (स्वचालित) नगर रेल सेवाको मस्कोमा बिहीबार औपचारिक शुभारम्भ गरिएको छ । यो रूसको सार्वजनिक यातायातको नयाँपनका लागि एक महत्त्वपूर्ण कोशेढुङ्गा हो । रूसी सरकारको आधिकारिक वेबसाइटमा यो समाचारको पुष्टि गरिएको छ ।
यो अग्रगामी परियोजना सन् २०३० सम्मका लागि मस्कोको यातायात विकास रणनीतिको एक महत्त्वपूर्ण भाग हो । यी सवारी साधनहरूले सन् २०३५ सम्ममा ९० प्रतिशत हिस्सा लिने लक्ष्य राख्दै सन् २०३० सम्म सहरले ३०० भन्दा बढी नगर रेल (ट्राम) हरूलाई स्वायत्त प्रविधिले सुसज्जित गर्ने योजना बनाएको छ ।
टीभी ब्रिक्सका अनुसार भर्खरै प्रस्तुत गरिएको एआईबाट सञ्चालित (स्वचालित) रेल स्वतन्त्र रूपमा स्टपहरूमा रोकिने र ढोकाहरू खोल्ने, ट्राफिक संकेतहरू पालन गर्ने, पैदल यात्रीहरूलाई सडकमा वारपार गर्न दिन र स्वचालित रूपमा रेलमार्गहरू तय गर्नेजस्ता सबै तालिकाहरूको कडा पालना कायम राख्न सक्षम छ । सन् २०२४ मेदेखि विद्युतीय यो रेलले कुनै पनि ट्राफिक उल्लंघनविना आठ हजार किलोमिटरभन्दा बढी कठोर परीक्षण पूरा गरेको छ । यसले स्वचालित प्रणालीको रेलको विश्वसनीयता र सुरक्षा प्रदर्शन गर्दछ ।
हालको संघीय कानुनअन्तर्गत प्रणालीको निरीक्षण गर्न र भाडा नियन्त्रणजस्ता गैर–ड्राइभिङ कार्यहरू ह्यान्डल गर्न एक जान अपरेटर सेवाको समयमा रेलको क्याबिनमा रहनेछ । रेलको ड्राइभिङ कार्यहरू पूर्ण रूपमा एआई र मस्कोमा विकसित उन्नत सफ्टवेयरद्वारा सुसज्जित गरिएका छन् । रेलको शुभारम्भ पहिले तीन चरणको परीक्षणहरू गरिसकिएको छ । पहिलो चरणमा यात्रुहरूविना रातमा रेलमार्गमा यात्रा, यात्रुहरूसँग पर्यवेक्षण यात्रा र अन्ततः पूर्ण स्वायत्त सेवाको नेतृत्व गर्यो ।
सन् २०२५को अन्त्यसम्म मस्कोले नियमित सेवामा तीन स्वायत्त रेलहरू राख्ने योजना बनाएको छ भने सन् २०२६ मा यसलाई १५ मा विस्तार गर्नेछ । रेल परियोजनाको अतिरिक्त सहरले सन् २०२५ डिसेम्बरमा सुरु हुने पहिलो स्वायत्त मेट्रो रेलको परीक्षण गर्ने तयारी गरिरहेको छ । स्वायत्त मेट्रो रेलको पूर्ण यात्री सेवा सन् २०२६का लागि प्रत्याशित गरिएको छ । यसले स्मार्ट सार्वजनिक यातायात समाधानमा विश्वव्यापी नेताको रूपमा मस्कोको स्थितिलाई अझ बलियो बनाउनेछ ।
यो पहलले प्राविधिक प्रगति र दिगो सहरी गतिशीलताको लागि मस्कोको प्रतिबद्धतालाई प्रतिविम्बित गर्ने र यसको उद्देश्य यात्रु अनुभव सुधार गर्ने, उत्सर्जन घटाउने र लामो अवधिमा ट्राफिक दक्षता बढाउने रहेको छ । रासस/एएनआई