काठमाडौं । विघटित प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ५१ जनाको हत्या र एक हजारभन्दा बढी घाइते भएको तथा खर्बाैं रुपैयाँको निजी तथा सरकारी सम्पत्ति आगजनी भएको दुई दिने जेन–जी आन्दोलनले अग्रगामी दिशाको ढोका खुलेको बताएका छन् । २३ र २४ गतेको हिंसात्मक आन्दोलनपछि भदौ २६ गते एक वक्तव्य निकाल्दै प्रचण्डले त्यस्तो दावी गरेका हुन् ।
उक्त आन्दोलनपछि प्रतिनिधिसभा विघटन भएको र संविधानको धारा नसमाती सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएकी छन् । उनको नियुक्ति अघि सेनाको ब्यारेकमा रहेका माओवादी नेता वर्षमान पुनले अध्यक्ष प्रचण्डको तर्फबाट नयाँ निकासका लागि विभिन्न विकल्प अघि सारेर वार्ता गरेका थिए र ती विकल्पमध्ये प्रचण्डलाई नै प्रधानमन्त्री बनाउने एउटा विकल्प अघि सारिएको थियो । तर त्यसमा उनीहरुबीच सहमति हुन नसकेपछि कार्कीको नाममा सहमति जुटेको थियो । आफ्नो नाममा सहमति जुटाउने प्रयास भइरहँदा प्रचण्डले उक्त वक्तव्य निकालेका थिए । तर अर्कै परिस्थिति सिर्जना भएपछि प्रचण्ड पछि हटेको र प्रधानमन्त्री बन्ने योजना सफल नभएपछि उनले संसदवादी दलहरुसँग मिसिएर संसद् पुनर्स्थापनाको पक्षमा उभिएको देखिएको छ । अध्यक्ष प्रचण्डले उक्त वक्तव्य जारी गरेपछिको राति सेनाको बलमा अपदस्थ राजा ज्ञानेन्द्र नारायणहिटी छिर्न लागेको उनका परिवारका सदस्यहरुको नाममा सामाजिक सञ्जालमा सन्देश प्रवाह भएको थियो ।