काठमाडौं । जेन–जी आन्दोलनको नाममा भएको हिंसात्मक प्रदर्शनपछि काठमाडौं जिल्ला अदालतको भवन अहिले पूर्णरूपमा क्षतिग्रस्त भएको छ । बबरमहलस्थित सात तल्ले यो आधुनिक भवन अहिले भग्नावशेषमा परिणत भएको छ ।
प्रदर्शनकारीले आगजनी गर्दा भवनका संरचना, कागजात, फर्निचर, कम्प्युटरलगायत सबै सामग्री नष्ट भएका छन् । अन्डरग्राउन्ड तलामा रहेको अभिलेख शाखा सबैभन्दा बढी प्रभावित बनेको छ । वर्षौंदेखिका फाइलहरू पूर्णरूपमा जलेर खरानी भएका छन् । विशेषगरी पहिले नै फैसलामा पुगेका मुद्दाहरूका मिसिलहरू हराएका छन्, यसले भविष्यमा न्यायिक प्रक्रिया अवरुद्ध हुने गम्भीर जोखिम उठाएको छ । भुइँतल्लामा रहेका अभियोग तथा फिराद दर्ता शाखा, तहसिल, बैंक काउन्टर, लेखा शाखा र सूचना प्रविधि शाखासमेत पूर्णरूपमा नष्ट भएका छन् । एक कर्मचारीका अनुसार, नख्खु कारागारबाट छुटेका कैदीहरू तथा तिनका आफन्तहरू मिलेर आफूसँग सम्बन्धित मुद्दाका फाइलहरू छानीछानी जलाएका थिए ।
संघीय सरकारका चर्चित मुद्दा सुनकाण्ड, भुटानी शरणार्थी काण्ड र सहकारी काण्डसँग सम्बन्धित मिसिलहरू प्रदर्शनकारीहरूको निशानामा परेको प्रारम्भिक सूचनामा उल्लेख छ । यस्तै, लगत शाखामा रहेका जरिवाना, बिगो र कैदसम्बन्धी फाइलहरू पनि नष्ट भएका छन् । २०७० सालमा निर्माण गरिएको आधुनिक भवनमा सञ्चालित अदालतको सेवा हाल पूर्णरूपमा अवरुद्ध छ । न्यायपालिकामाथिको यस्तो आक्रमण नेपाली लोकतन्त्रको इतिहासमै दुर्लभ र गम्भीर घटनाको रूपमा हेरिएको छ । शुक्रबार उक्त भवनको कर्मचारीहरूले सफाइ गरेका थिए ।