काठमाडौं । जेन–जी नामक प्रदर्शनका कारण पाँच दिनदेखि बन्द रहेको काठमाडौं उपत्यकाको सार्वजनिक सवारीसाधन सञ्चालनमा आएका छन् ।
काठमाडौं उपत्यकामा शनिबार बिहानदेखि सार्वजनिक बस, ट्याक्सीलगायत सवारीसाधन सञ्चालनमा आएका हुन् । प्रदर्शनका कारण गत मङ्गलबारदेखि काठमाडौं उपत्यका ठप्प रहेको थियो । सार्वजनिक सवारीसाधनको आवागमन सुरु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए । शुक्रबार सार्वजनिकलगायतका सवारीसाधन फाट्टफुट्ट मात्रै चलेका थिए । शनिबार बिहानदेखि भने बाक्लो संख्यामा सवारी चलेका छन् । यात्रुहरुको चहल पहल बढेको छ ।
त्यसैगरी, काठमाडौंबाट बाहिरी जिल्लामा जाने बसहरु पनि आइतबारबाट नियमित चल्न सक्ने जनाइएको छ । गत मंगलबारदेखि उपत्यकालगायतका सबै क्षेत्रमा जेन–जीको प्रदर्शन भएसँगै नेपाली सेनाले कफ्र्यु लगाएपछि सार्वजनिक सवारीसाधन बन्द गरिएका थिए । काठमाडौंको कफ्र्यु हटाइएकाले जनजीवन पनि सामान्य बनेको हो ।