काठमाडौं । यो साता सेयर बजार परिसुचक नेप्से २६ सय ७२ दशमलव २५ विन्दुमा कायम भएको छ । यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ६२ दशमलव २९ विन्दुुमा कायम भएको छ ।
धितोपत्र बजारमा यो साता तीन सय २४ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुुसार एक लाख १७ हजार सात सय ९१ पटकको कारोबारमा दुई करोड २८ लाख ३९ हजार तीन सय ८८ कित्ता सेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम नौ अर्ब ६३ करोड ६५ लाख ३३ हजार नौ सय ६९ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा १५ अर्ब रुपैयाँले कम हो ।
धितोपत्र बजारमा गत साता तीन सय २६ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुसार तीन लाख ९३ हजार तीन सय ४२ पटकको कारोबारमा चार करोड ७५ लाख चार हजार तीन सय ७८ कित्ता सेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम २५ अर्ब ४७ करोड ८१ लाख ९५ हजार नौ सय ५९ रुपैयाँ पुगेको थियो । यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा दुई कार्य दिन मात्र खुलेको थियो । भदौ २३ गतेदेखि सुरु भएको जेन–जी आन्दोलनका कारण उत्पत्न असहज परिस्थितिले गर्दा साताको पहिलो र दोस्रो दिन नेप्सेको नियमित कारोबार कक्ष खुला रहे भने त्यसपछिका बाँकी दिनहरुमा नेप्से बन्द रहयो । खुलेको दुई कार्य दिन पनि नेप्से घटेको थियो ।
दैनिक सेयर कारोबारको विश्लेषण गर्दा साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ११ दशमलव ५२ अंकले ओरालो लागेर २७ सय आठ दशमलव २५ विन्दुमा झरेकोमा क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ३२ अंकले ओरालो लागेर चार सय ६७ दशमलव ५१ विन्दुमा झरेको थियो । दोस्रो कारोबार दिन सोमबार पनि नेप्से परिसूचक ३५ दशमलव ९९ अंकले ओरालो लागेर दुई हजार छ सय ७२ दशमलव २५ विन्दुमा झरेकोमा क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव २१ अंकले ओरालो लागेर चार सय ६२ दशमलव २९ विन्दुमा झरेकोे थियो ।
यो साता नेपाल पुनर्बीमा कम्पनी, हिमालन रि–इन्स्योरेन्स कम्पनीको बढी रकम कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनी, हिमालयन डिस्टिलरी प्रालि आदिको बढी संख्यामा सेयर किनबेच भएको छ । बजार पुँजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।
नेप्सेको नियमित कारोबार कक्ष असोज दुई गतेसम्म बन्द
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्सें) को नियमित कारोवार कक्ष असोज दुई गतेसम्म नैं बन्द हुने भएको छ । नेप्सेले सुचीकृत सबै कम्पनीहरुको नाउँमा एक सूचना जारी गर्दै असोज दुई गतेसम्म सेयर कारोबार बन्द हुने जानकारी दिएको हो ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९० उपदफा (१) खण्ड (घ) बमोजिम आज भदौ २७ गतेदेखि धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भए अनुसार भदौ २९ गतेदेखि असोज दुई गतेसम्म धितोपत्रको दोस्रो बजार कारोबार बन्द रहने सूचनामा उल्लेख गरिएको छ ।