काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले जेन–जी नामक विध्वंशकारी आन्दोलनका क्रममा उद्योग व्यवसाय प्रतिष्ठानमा अर्बौं रुपैयाँको क्षति पुगेको जनाएको छ ।
महासंघले एक विज्ञप्ति जारी गरी मुलुकभर नै अर्बौं रुपैयाँ बराबरको क्षति भएको र यसबारे थप विवरण संकलन गरिरहेको जनाएको छ । क्षतिका कारण राजस्व र कुल गार्हस्थ उत्पादनमै गम्भीर असर पर्ने प्रारम्भिक आकलन गरिएको महासंघको भनाइ छ । जेन–जी आन्दोलनका प्रदर्शनकारीहरुले भदौ २४ गते सार्वजनिक, व्यावसायिक तथा व्यक्तिगत सम्पत्तिमाथि आगजनी, तोडफोड तथा लुटपाट गरेका थिए । यसैगरी, महासंघले निजी क्षेत्रका गतिविधि निर्वाधरुपमा सञ्चालन हुन नसकेमा अर्थतन्त्रमा थप समस्या हुने र आगामी दिनमा राजस्वमा समेत नकारात्मक प्रभाव पर्न जाने जनाएको छ । महासंघले सर्वसाधारण तथा उद्यमी व्यवसायले निर्वाध रुपमा पेशा व्यवसाय गर्न पाउने सुनिश्चितताका लागि सुरक्षा प्रदान गर्न सरकारसँग आग्रह गरेको छ ।
महासंघका अनुसार पछिल्लो घटनाक्रममा कतिपय उद्यमी व्यवसायीको उद्योग, प्रतिष्ठान, कार्यालय एवम् निवासमा समेत तोडफोड एवम् आगजनीका घटना भएका छन् । यसरी व्यक्तिगत एवम् व्यावसायिक सम्पत्तिमाथि भएका तोडफोडका घटनाको महासंघ भत्र्सना गरेको छ । साथै, महासंघ व्यावसायिक एवम् व्यक्तिगत सम्पत्तिमाथि आगामी दिनमा आक्रमण नहुने सुनिश्चितताको लागि पनि महासंघले ध्यानाकर्षण गराएको छ । महासंघले अत्यावश्यकीय सेवा तथा पेशाकर्मीहरुको आवतजावत एवम् वस्तुहरु जस्तै औषधि, खाद्यान्न, दूध, पानी फलफूल तरकारी, पेट्रोलियम पदार्थ आदिको ओसारपसार सहजीकरणका लागि पनि आग्रह गरेको छ ।
यसैगरी, गुणस्तरीय सामानको नियमित आपूर्ति गरी बजारमा अभाव सिर्जना हुन नदिने तर्फ पनि महासंघले देशैभरका सबै उद्यमी व्यवसायीहरुमा आग्रह गरेको छ । महासंघका अनुसार अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भए पनि धेरै भन्सार नाका अहिले बन्द रहेका छन् । अत्यावश्यकीयलगायतका सामान आयात निर्यातका लागि भन्सार नाकामा सुरक्षा दिई सुचारु गर्ने वातावरण निर्माणका लागि पनि महासंघले आग्रह गरेको छ । ‘नेपाली अर्थतन्त्रमा ८१ प्रतिशत, राजस्वमा ८० प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान रहेको निजी क्षेत्रका विषय समावेश हुँदा अर्थतन्त्र चलायमान भई समुन्नति र स्थायित्व कायम हुने विश्वास हामीले लिएका छौं’, महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच, महासंघले सुशासन, भ्रष्टाचार नियन्त्रण, वाक् स्वतन्त्रता, मर्यादित रोजगारी, स्वरोजगारी, राजस्वको सदुपयोगलगायतका विषयमा युवापुस्ताले चासो देखाएकाले अब समुन्नतिको यात्रामा देश अगाडि बढ्ने अपेक्षा गरेको जनाएको छ । देशको समुन्नतिका लागि अन्यौल अन्त्य भएर सुशासन कायम गर्ने कार्यमा महासंघ समन्वय एवम् सहकार्य गर्न तयार रहेको पनि जनाइएको छ । नवनिर्माण एवम् पुनर्निर्माणका लागि आगामी दिनमा आवश्यक पर्ने बजेटको मुख्य स्रोत निजी क्षेत्र रहेको हुँदा उद्यम व्यवसायको निर्वाध सञ्चालन गर्न आवश्यक शान्ति सुरक्षाको व्यवस्थाका लागि महासंघले आग्रह गरेको हो । ‘सामाजिक न्यायसहितको उच्च आर्थिक वृद्धिको वातावरण निर्माण गरेर मात्र उच्च ज्यालासहितको मर्यादित रोजगारी सम्भव छ । स्थायित्वका लागि युवाहरुको चाहना अनुरुप सुशासन, वाक स्वतन्त्रता, स्वतन्त्र भएर पेशा व्यवसाय गर्न पाउने अधिकारको सुनिश्चिततासँगै लगानी एवम् रोजगारी प्रवर्द्धनका लागि उपयुक्त वातावरण सिर्जना गरी समुन्नत समाज निर्माणमा योगदान पुर्याउन महासंघ पुनः सबैमा आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।