काठमाडौं । नेपाल निकासी पैठारी संघले आपूर्ति शृङ्खला खल्बलिन नदिन अपिल गरेको छ । संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अहिलेको जटिल परिस्थितिमा पनि अत्यावश्यक वस्तुहरूको आपूर्ति शृङ्खला अविच्छिन्न राख्न सम्पूर्ण सदस्य तथा गैर–सदस्य व्यवसायीहरूलाई व्यावसायिक कर्तव्यबोधका साथ अघि बढ्न अपिल गरेको हो ।
औषधि, खाद्यान्न, दूध, पानी, फलफूल, तरकारी, पेट्रोलियम पदार्थजस्ता सामग्रीको सहज आपूर्ति सुनिश्चित गर्न सम्बन्धित सरकारी निकायहरूसँग समन्वय र सहजीकरण गर्न संघले आग्रह गरेको छ । ‘निषेधाज्ञा र कफ्र्युका बेला अत्यावश्यक सेवाका पेसाकर्मीहरूको आवतजावत तथा आपूर्ति व्यवस्थालाई सहज बनाउन जरुरी छ,’ संघले भनेको छ । साथै, संघले जेन–जी नामक आन्दोलनका क्रममा उद्यमी, व्यवसायी, उद्योग प्रतिष्ठान, कार्यालय तथा निजी निवासमा भएको आगजनी र तोडफोडप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । यस्ता हिंसात्मक घटनाले व्यावसायिक वातावरणमा नकारात्मक प्रभाव पार्ने, स्वदेशी तथा विदेशी लगानी हतोत्साहित हुने र समृद्धिको यात्रामा अवरोध आउने स्पष्ट गर्दै संघले सबै पक्षलाई संयमता अपनाउन आह्वान गरेको छ ।
संघले मुलुक अहिले ऐतिहासिक र कठिन मोडमा रहेको उल्लेख गर्दै स्थायित्व, सुशासन, वाक स्वतन्त्रता र व्यावसायिक स्वतन्त्रताको सुनिश्चिततासहित लगानी र रोजगारी प्रवर्द्धन गर्न उपयुक्त वातावरण बनाउन सरकार र सरोकारवाला सबै पक्षसँग अपिल गरेको छ । ‘निजी क्षेत्रको व्यावसायिक गतिविधि भयरहित वातावरणमा चल्न नसकेमा अर्थतन्त्र थप संकटमा जान सक्छ,’ संघले स्पष्ट पारेको छ । यस्तो अवस्थामा शान्ति सुरक्षा व्यवस्था सुदृढ गर्न र व्यावसायिक तथा व्यक्तिगत सम्पत्तिको संरक्षण गर्न तत्काल कदम चाल्न संघले आग्रह गरेको छ ।
संघले आपूर्ति तथा व्यापार पुनः सञ्चालनको सुनिश्चितताका लागि संघले सबै भन्सार तथा सीमा नाकाहरूलाई नियमितरूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएको छ । संघले अत्यावश्यक तथा अन्य सामग्रीको आयात–निर्यात सुनिश्चित गर्न सुरक्षा प्रबन्ध मिलाउनसमेत आग्रह गरेको छ । संघले सुशासन, पारदर्शिता, र जवाफदेहितामा आधारित ‘नवनेपाल’ निर्माणको दिशामा अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै त्यसका लागि सम्बन्धित सबै निकायसँग समन्वय र सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेको छ । ‘देश इतिहासकै कहालीलाग्दो क्षणबाट विस्तारै सामान्यतर्फ उन्मुख भइरहेका बेला अब भ्रष्टाचार, कुशासन र बेथिति अन्त्य गर्दै सुशासन र समृद्धिको यात्रामा अघि बढ्नुको विकल्प छैन,’ संघले भनेको छ ।
हालै देशभर भएका युवा आन्दोलनहरूका क्रममा भएको जनधनको क्षतिप्रति संघले गहिरो दुःख व्यक्त गरेको छ । संघले आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।