काठमाडौं । हालैको जेन–जी नामक आन्दोलनका क्रममा देशभरका विभिन्न सरकारी र सार्वजनिक सेवा भवनहरूमा भएको क्षतिको पुनर्निर्माणमा ‘घर निर्माण फाउन्डेसन’ले सहयोग गर्ने भएको छ ।
उक्त आन्दोलनले राष्ट्रकै आधारभूत सेवामा ग म्भीर अवरोध पुर्याएको उल्लेख गर्दै फाउन्डेसनले अस्पताल, प्रहरी चौकी, सरकारी कार्यालयलगायत अत्यावश्यक सेवा दिने संरचना क्षतिग्रस्त भएपछि जनजीवन प्रभावित बनेको जनाएको छ । यस्ता भवनहरूको छिटो पुनः सञ्चालनमा ढिलाइ भए सेवा नै अवरुद्ध हुने अवस्था आएकोले सहयोग गर्न लागेको फाउन्डेसनले जनाएको छ । यस्तो संकटपूर्ण घडीमा ‘घर निर्माण फाउन्डेसन’ले राष्ट्रको सेवामा हातअघि बढाउने घोषणा गरेको हो । फाउन्डेसनले स्किल सेवा प्रालिसँग सहकार्यमा देशभर क्षतिग्रस्त संरचनाहरूको मूल्याङ्कन, मर्मत तथा पुनर्निर्माण गर्ने विशेष अभियान सुरु गर्ने तयारी गरेको जनाएको छ ।
फाउन्डेसनले अस्पताल, प्रहरी चौकी, सरकारी कार्यालय र एनजीओजस्ता सार्वजनिक सेवामा प्रयोग हुने भवनहरूलाई यथाशीघ्र सञ्चालनमा ल्याउन सम्पूर्ण सीप र जनशक्ति प्रयोग गर्नेछ । विद्युतीय मर्मत, प्लम्बिङ, सुरक्षा प्रणाली, फर्निचर, ढोका–झ्यालदेखि लिएर सम्पूर्ण संरचनागत नवीकरणसम्मका काम गर्न सक्षम प्राविधिक जनशक्ति उपलब्ध रहेको दुई संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
फाउन्डेसनले हालै क्षति पुगेका भवनहरूको जिम्मेवारी लिने इच्छा राख्दै सम्बन्धित निकायहरूलाई मूल्याङ्कन र मर्मतका लागि आफूसँग सम्पर्क गर्न अनुरोध गरेको छ । यो अभियानमार्फत छिटो मूल्याङ्कन, मर्मत तथा संरचनागत नवीकरण गरी जनताको स्वास्थ्य, सुरक्षा र प्रशासनिक सेवामा कुनै अवरोध नआओस् भन्ने उद्देश्य लिइएको छ । फाउन्डेसनले आफ्नो यो अभियानलाई राष्ट्रप्रति समर्पित सेवा भन्दै सबै जिम्मेवार निकाय, सरकारी कार्यालय तथा विकास साझेदारहरूलाई हातेमालो गर्न आह्वान गरेको छ ।