पञ्जाब । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा आएको बाढीका कारण हालसम्म कम्तीमा ९७ जनाले ज्यान गुमाएका छन् भने ४४ लाखभन्दा बढी मानिस प्रभावित भएका छन्। प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएम) का अनुसार, रावी, सतलज र चेनाब नदीमा आएको बाढीले पञ्जाबभरि चार हजार ५०० भन्दा बढी गाउँमा क्षति पुर्याएको छ ।
सिन्ह्वाका अनुसार बाढीबाट विस्थापित भएकामध्ये २४ लाख ५० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रहरूमा हालसम्म ३९६ वटा राहत शिविर स्थापना गरिएका छन्, जहाँ पीडितहरूलाई आश्रय, खाना तथा औषधोपचार सेवा उपलब्ध गराइँदै छ।
पीडीएमले करिब १९ लाख गाईवस्तुहरूलाई पनि सुरक्षित स्थानमा सारिएको जनाएको छ। देशभरको सरकारी विवरणअनुसार, जुन २६ देखि सुरु भएको मौसमी वर्षा र बाढीले हालसम्म ९५६ जनाको ज्यान लिइसकेको छ, भने एक हजार ६० भन्दा बढी नागरिक घाइते भएका छन्। यस बाढीका कारण करिब आठ हजार ४०० घरहरू पूर्णरूपमा क्षतिग्रस्त भएका छन्, र ६ हजार ५०० भन्दा बढी गाईवस्तु नष्ट भएका छन्।
सरकारले विस्थापित समुदायहरूलाई राहत प्रदान गर्न र थप क्षति रोक्न उद्दार तथा सहायता अभियानलाई तीव्र बनाएको जनाएको छ। बाढीग्रस्त क्षेत्रहरूमा सेना, प्रहरी र स्थानीय निकायको सहकार्यमा राहत तथा पुर्नस्थापना कार्य जारी रहेको छ।