काठमाडौं । सडक विभाग ललितपुरको चाकुपाट सरेको छ । जेन–जी प्रदर्शनका क्रममा काठमाडौंको बबरमहल ध्वस्त भएसँगै विभाग ललितपुर सरेको हो । आइतबारदेखि चाकुपाटबाटै विभागले सेवा थालेको प्रवक्ता प्रभातकुमार झाले बताए । उनका अनुसार पाँचवटा कार्यालय र आयोजना भने बबरमहलबाटै सञ्चालन हुनेछ ।
२०७२ को भूकम्पपछि पनि विभाग चाकुपाटबाटै सञ्चालन भएको थियो । २०८० मंसिरमा यसको प्रवलीकरण गरेर बबरमहल सरे पनि जेन–जी प्रदर्शनका क्रममा आगो लगाइएपछि पुनः चाकुपाट सर्नुपरेको हो ।
बबरमहल एक सय २० वर्ष पुरानो दरबार हो । यसमा तीन सय कोठा रहेका थिए । तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले आफ्ना छोरा बबर शमशेरको नाममा भवन बनाएर बबरमहल नामकरण गरिदिएका थिए । सोही आधारमा ठाउँको नाम पनि बबरमहल भएको थियो ।