काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरुमा निक्षेप रकम थुप्रिएको छ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीसहित ५४ संस्थाहरुको कुल निक्षेप ७२ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको हो ।
यस अवधिमा बैंकिङ क्षेत्रको कुल कर्जा ५६ खर्ब १३ अर्ब रुपैयाँ छ । सोअनुसार कुल निक्षेप र कुल कर्जामा १६ खर्ब ४६ अर्ब रुपैयाँको अन्तर छ । राष्ट्र बैंकका अनुसार पछिल्लो अवधिमा वाणिज्य बैंकहरुको मात्र कुल निक्षेप ६५ खर्ब सात अर्ब रुपैयाँ छ भने कुल कर्जा ४९ खर्ब ९० अर्ब रुपैयाँ छ । वाणिज्य बैंकहरुको कुल निक्षेप र कर्जाबीच १५ खर्ब १७ अर्ब रुपैयाँको फरक छ ।
त्यस्तै, विकास बैंक र फाइनान्स कम्पनीहरुमा कुल निक्षेप सात खर्ब ५१ अर्ब रुपैयाँ छ भने कुल कर्जा छ खर्ब २४ अर्ब रुपैयाँ छ । उनीहरुबीच कुल निक्षेप र कर्जाको अन्तर एक खर्ब २७ अर्ब रुपैयाँ छ । बैंकिङ क्षेत्रमा निक्षेप तथा कर्जा अनुपात अर्थात् सीडी रेसियो पछिल्लो अवधिमा ७६ दशमलव ३७ प्रतिशत छ । यसको अर्थ बैंक तथा फाइनान्स कम्पनीहरुले अझै थप १४ प्रतिशतको हाराहारीमा कर्जा प्रवाह गर्न सक्छन् । किनकि राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा फाइनान्स कम्पनीहरुले सीडी रेसियो ९० प्रतिशत कायम रहँदासम्म कर्जा प्रवाह गर्न पाउँछन् । बैंकिङ क्षेत्रमा हाल कायम रहेको कुल निक्षेप रकम ६६ खर्ब ४२ अर्ब रुपैयाँ छ । उक्त निक्षेपको १० प्रतिशत घटाउँदा बैंकिङ क्षेत्रको कुल निक्षेप ६५ खर्ब ३३ अर्ब रुपैयाँ छ ।
उक्त निक्षेपमध्ये हालसम्म बैंक तथा फाइनान्स कम्पनीहरुले ५६ खर्ब १३ अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह गरेका छन् । सोही आधारमा पनि बैंकहरुले झण्डैै नौ खर्ब रुपैयाँ कर्जा प्रवाह गर्न सक्ने अवस्थामा देखिएका हुन । यसअवधिमा बैंकिङ क्षेत्रमा अल्पकालीन अवधिको निक्षेप तथा कर्जाको ब्याजदर अर्थात् अन्तर बैंक ब्याजदर भने दुई दशमलव ७५ प्रतिशत रहेको छ ।