खासगरी सबैभन्दा कान्छो पिँढीले गरेको सडक आन्दोलनको क्रममा विभिन्न अपराधमा गम्भीर सजाय भोगिरहेकाहरूले जेल तोडेर भागेका दिनदेखि समाज थप आतङ्कित बन्दै गएको छ । आन्दोलन सकिएर नयाँ सरकार बनिसकेपछि पनि करिब १२ हजारको हाराहारीमा यस्ता बन्दीहरू आफू पहिले बसको कारागार फर्किएका छैनन् । कारागार तोडिने कुरा आन्दोलनकारीका घोषित र अघोषित विषयमा नै थिएनन् । तर जब आफूलाई राजनेता भन्ने र ठान्नेहरूले जेल तोडेर भाग्ने क्रम सुरु गरे त्यसपछि नै विभिन्न ठाउँमा सरकारी र निजी भवनमा आगलागी सुरु भएको रिपोर्टहरूले देखाएका छन् । यस क्रममा करिब १५ हजारको हाराहारीमा यस्ता बन्दीहरू फरार भएका थिए । तीमध्ये यतिबेला पनि करिब १२ हजारको हाराहारीमा सम्पर्कमा आएका छैनन् । यस्ता विवरण सम्बन्धित निकायले नै बताइरहेका अवस्था छ । कतिपय भद्र मानिएका बन्दीहरू भने फिर्ता हुँदैछन् । तर जसले हुलदङ्गा गरेर जेल तोडेका थिए उनीहरू भने फिर्ता हुने क्रम एकदमै सुस्त छ, जसले गर्दा समाजमा आगजनी र लुटपाटको भय व्याप्त भएको छ ।
अवस्था कतिसम्म भने नागरिकहरू रातभरि सुत्न समेत छाडेका छन् । केन्द्रीय राजधानीकै अवस्था यस्तो छ जहाँ सुनसान बस्तीहरू छन्, तिनको अवस्था अनुमान गर्न सकिन्छ । केन्द्रीय राजधानी उपत्यकाकै एउटा जिल्ला भक्तपुरमा आफ्नो गाउँ र टोलबासीलाई सुरक्षित राख्न, चोरी डकैतीबाट बचाउन युवाहरूले आफैँ गस्ती सुरु गरेका भन्ने समाचार विवरण आइरहेका छन् । त्यसै पनि आगजनीमा परेका घरहरू त्यसै पनि खण्डहर छन् । त्यसमा केही जोगिएका सामानहरू पनि समूहगतरुपमा नै लुटपाट भइरहेको स्थिति छ । त्यसमाथि मध्यरातमा एउटा ठूलो जत्थाले लुटपाट मच्चाउन थालेपछि यो जिल्लाका युवाहरू रात्रिमा गस्ती गर्न लागेका बुझ्न सकिन्छ । निश्चय नै यतिबेलाको परिस्थिति विषम नै हो । त्यसमा गाउँ, टोल र समुदायले आफ्नो सुरक्षा आफैँ गर्न खोज्नु सराहनीय काम हो । तर यसको सन्देश भने राज्यविहीनताको स्थिति कायम रहेको भन्नेतर्फ जान्छ । आफैँ गस्तीमा उत्रिएकाहरूका अनुसार रातको समयमा गाउँ–गाउँमा हुलै बाँधेर अपरिचित र घरेलु हतियार बोकेका व्यक्ति प्रवेश गर्न थालेपछि आतङ्क बढेको हो । सीमावर्ती क्षेत्रमा यस्तो हुँदा उताबाट आएका भन्ने होला तर काठमाडौं उपत्यकामै यस्तो देखिनु भनेको चाहिँ धेरैले भगुवा कैदीबन्दीको समूह सक्रिय भएको मानिरहेका छन् । पछिल्लो समय जे–जति आगलागी भए त्यसमा यस्तै समूहको हात रहेको भनेर सुरक्षा निकायले नै अनुमान गरेको अवस्था छ । यसलाई समयमा नै निष्क्रिय पारिएन भने समाजमा भय झन्झन् बढ्दै जान्छ ।
सरकारले अब गर्नुपर्ने वा नगरी नहुने काम भनेको दण्डाहीनताको अन्त्य हो । राष्ट्रिय झण्डा भिरेर निजी तथा राष्ट्रिय सम्पत्तिमा आगजनी र लुटपाट मच्चाउनेहरू अहिले आन्दोलनको आह्वान गर्ने युवा पिँढीको कार्यक्रम होइन भन्ने सरकारले पनि बुझ्नुपर्छ र पहिचान भएका यस्ता अनुहारमाथि कडा कारबाही चलाउनुपर्छ । गएको चैत १५मा जे–जसरी लुट गरिएको थियो अहिले डिपार्टमेन्ट स्टोरहरूमा त्यही दोहोरिएको छ । चामलका बोरादेखि रक्सीका बोतलसम्म पनि लुटेको देखियो । जेन–जी आन्दोलन नाममा भएको सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीजस्ता घटनामा पनि कस्ता व्यक्तिको संलग्नता छ भन्ने अनुहारसहितका विवरणहरू रेकर्डमा देखिन थालेका छन् । त्यसो हो भने यिनीहरूमाथि किन कारबाही नगर्ने ? भन्ने प्रश्न खडा हुन्छ । एकातिर जेलबाट भागेका १२ हजारको जत्था छँदैछ भने अर्कोतिर संसद् भवन, सिंहदरबार, राष्ट्रपति भवन, सर्वोच्च अदालतलगायतका सार्वजनिक संरचना र निजी भवनहरू जलाउनेहरू पहिचानमा छन् भने तिनीहरूमाथि किन कारबाही नगर्ने ? भन्ने प्रश्न उठ्छ । अबको खाँचो हो, भययुक्त समाजलाई भयमुक्त बनाउनु । नवनियुक्त प्रधानमन्त्रीको ध्यान यथाशीघ्र यता जाओस् । नत्र भयले साम्राज्य फैलाउनेछ ।