काठमाडौं । काठमाडौं उपत्यकाका मुख्य चोकहरूमा युवाले स्वःस्फूर्तरूपमा सडकमा उभिएर स्वयम्सेवकका रूपमा ट्राफिक व्यवस्थापनमा अग्रसरता देखाएका छन् । ‘जेन–जी पुस्ता’को आन्दोलनका कारण अझैसम्म ट्राफिक प्रहरीले नियमितरूपमा काम गर्न सकेका छैनन् ।
कर्फ्यु हटेपछि सेना ब्यारेक फर्किए पनि ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ । एकातिर धेरै ठाउँमा ‘ट्राफिक सिग्नल’ बिग्रिएका छन् भने अर्कोतर्फ प्रहरीको उपस्थिति नदेखिँदा राजधानीका चोकहरूमा थप समस्या भएको छ । यस्तै, अवस्थामा स्थानीय स्वयम्सेवकले स्वःस्फूर्तरूपमा सडकमा उभिएर सवारीसाधन र पैदल यातायातलाई सहज बनाउन सहयोग गरिरहेका छन् ।
स्वयम्सेवक ललित ओझाले भने, ‘राजधानी जामले थिचिँदा नागरिक नै सहयोग गर्न निस्कनुपर्ने अवस्था आएको छ । प्रहरी नभएकाले हामीले सडक खाली राख्ने प्रयास गरिरहेका छौँ ।’
त्यस्तै, रोशनी खड्काले प्रहरी नभए पनि सवारीचालक र पैदल यात्रु सहयोगी बने भने ठूलो समस्या नहुने बताइन् । उनले भनिन्, ‘तर दीर्घकालीनरूपमा राज्यले नै जिम्मेवारी लिनुपर्छ ।’
सर्वसाधारण भोजराज पाण्डेले ट्राफिक सिग्नल बिग्रिएको र प्रहरी समेत नभएकाले यस्तो अवस्थामा नागरिककै सहयोगले सडक चलिरहेको बताए । ‘तर यसलाई सामान्य ठान्न मिल्दैन, राज्यले तुरुन्त समाधान निकाल्नुपर्छ”, उनले भने ।
राजधानीका विभिन्न चोकमा स्वयम्सेवकको सक्रियता देखिन थालेको छ । तर दीर्घकालीन समाधानका लागि प्रहरी प्रशासन र सरकारले चाँडो पहल गर्नुपर्ने अवस्था छ ।