धनगढी । कैलालीमा जेन–जी आन्दोलनको निशानामा परेर भग्नावशेष भएका सरकारी कार्यालयबाटै सेवा प्रवाह सुचारु गरिएको छ ।
२४ भदौमा भएको जेन–जी आन्दोलनका क्रममा कैलालीका अधिकांश सरकारी संरचना ध्वस्त पारिएका थिए । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार क्षतिको यकिन विवरण संकलनको कार्य भइरहेको छ । एक सय २० वटा सरकारी कार्यालयमा तोडफोड र आगजनी भएको उनले जानकारी दिए । ‘त्यसबाहेक १५–२० वटा निजी घरमा पनि आगजनी भएको छ,’ उनले भने, ‘साढे पाँच सय मोटरसाइकल र सय बढी चार पाङ्ग्रे सरकारी सवारी साधन पनि जलाइएको छ ।’ जोशीका अनुसार आन्दोलनमा ध्वस्त बनाइएको जिल्ला प्रशासन कार्यालय कैलालीले भने आइतबारदेखि केही सेवा सुचारु गरेको छ । ‘आगजनीले ध्वस्त बनेको भवनबाटै नागरिकता शाखा चलाएका छौँ,’ उनले भने, ‘राष्ट्रिय परिचयपत्र र राहदानी शाखाको काम सुचारु गर्न भने निकै समय लाग्ने देखिन्छ ।’
जोशीका अनुसार उपकरण र कागजात आगजनीमा जलेर नष्ट भएकाले शून्यबाट सुरुवात गर्नुपर्ने अवस्था छ । ‘नागरिकताका अभिलेख, मुद्दाका कागजात र राहदानीका कागजात जलेर नष्ट पारिएको छ,’ उनले भने । उता भन्सार कार्यालयले पनि आइतबारदेखि गाडीको ग्यारेजबाट काम सुरु गरेको छ । ‘शुक्रबार पनि पेट्रोलियम पदार्थका गाडी जाँच पासको काम गरेका थियौँ,’ भन्सार कार्यालयका सूचना अधिकारी खेमप्रसाद अर्यालले भने, ‘आजदेखि अन्य सेवा पनि सुचारु गरेका छौँ ।’ भन्सार कार्यालयको भवनसँगै सवारी साधन, उपकरण, फर्निचर र कागजात जलेको अर्यालले बताए । अर्यालका अनुसार लिलामीको प्रक्रियामा रहेका दुई सय बढी मोटरसाइकल पनि आगजनीमा नष्ट पारिएको छ । भन्सार कार्यालयले ती सवारी साधन लिलामीका लागि २४ गते नै बोलपत्र आह्वानको तयारी गरेको थियो ।
उता भूमिसुधार तथा मालपोत कार्यालयले पनि सरसफाइ गरेर सेवा सुचारु गरेको छ । ‘दर्ता र चलानीका कागजात जलाएर नष्ट पारिएको छ,’ भूमिसुधार तथा मालपोत कार्यालय कैलालीका प्रमुख प्रेमबहादुर दौल्यालले भने, ‘तार जलाएर विद्युत् सेवा पूर्णरुपमा बन्द छ । कम्प्युटर र प्रिन्टर चोरी गरिएको छ ।’ कार्यालयका प्रमुख दौल्यालले सरसफाइको काम सकेर सेवा सुचारु गरिएको जानकारी दिए । नापी कार्यालयमा पनि प्रदर्शनकारीले आगजनी गरेका थिए । सो क्रममा कार्यालयमा रहेका कम्प्युटर चोरी भएको छ । यस्तै, यातायात व्यवस्था कार्यालय कैलालीले भने आगजनीका कारण क्षति पुगेको भन्दै २४ भदौदेखि अर्को सूचना जारी नभएसम्म सेवा प्रवाह र प्रयोगात्मक परीक्षाका कार्यक्रम स्थगित गरिएको जनाएको छ । कार्यालयका अधिकृत चक्रप्रसाद उपाध्यायले क्षतिको मुचुल्का संकलनका लागि आइतबार प्रहरी पुगेको बताए । उनले अब सोमबारदेखि भने सेवा सुचारु हुने जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीमा प्रदेशका मन्त्रालय, संघीय सरकार मातहतका कार्यालय र केही वडा कार्यालयमा आगजनी गरिएको थियो । नेपाल टेलिकम, विद्युत् प्राधिकरण, स्वास्थ्य कार्यालय, धनगढी उपमहानगरपालिका, जिल्ला प्रहरी र मातहतका कार्यालय भने सुरक्षित छन् ।