काठमाडौं । महालक्ष्मी विकास बैंकले जिउधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । बैंकले आइतबार विज्ञप्ति जारी गर्दै विषम परिस्थितिको समयमा घटेका विभिन्न दुःखद घटनाहरूमा भएको जिउधनको क्षतिले बैंकलाई अत्यन्तै मर्माहत बनाएको बताएको हो ।
बैंकले विज्ञप्तिमार्फत भनेको छ, ‘यस दुःखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति धैर्यधारण गर्नसक्ने शक्ति प्राप्त होस् भनी कामना गर्दछौँ । साथै, उपचारार्थ रहेका सम्पूर्ण घाइते व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ । उक्त घटनाहरूमा सरकारी, सार्वजानिक र निजी सम्पत्तिहरूमा भएको क्षतिप्रति बैंक गहिरो दुःख प्रकट गर्दछ ।
साथै सुरु भइसकेको सरकार गठनको प्रक्रिया चाँडै टुंगिने तथा त्यसले मुलुकको असामान्य अवस्थालाई शीघ्र सामान्य बनाउँदै शान्ति, सुशासन, निष्पक्ष व्यावसायिक वातावरण, आर्थिक स्थायित्व र सुरक्षाको प्रत्याभूति गर्ने दिशामा सफल हुने विश्वास बैंकले लिएको छ ।
बैंकको लेकसाइड पोखरा शाखा रहेको भवन पूर्णरूपमा क्षतिग्रस्त भएको र उक्त शाखा कार्यालयबाट प्रवाह हुने बैंकिङ सेवाहरू नजिकको शाखा कार्यालयमार्फत लिन सकिनेछ । साथै बैंकको लेकसाइड पोखरा शाखाबाहेक अन्य सम्पूर्ण १०२ शाखा कार्यालय पूर्णरूपमा सेवा सञ्चालनमा आइसकेको तथा बैंकको सम्पूर्ण डिजिटल सेवाहरू सुरक्षितरूपमा सञ्चालन भइरहेको व्यहोरा समेत जानकारी बैंकले जानकारी गराएको छ ।