काठमाडौं । यसैगरी नेपाल बीमा प्राधिकरणले हालको गैरप्राकृतिक विपत्को अवस्थामा बीमा दाबी भुक्तानीलाई छिटोछरितो बनाउने सम्बन्धमा बीमा सर्भेयरको भूमिकाका सम्बन्धमा आजै बीमा सर्भेयर संघ, नेपालसँग छलफल गरेको छ ।
छलफलमा बीमा सर्भेयर संघका पदाधिकारीहरूले हालको विषम अवस्थालाई ध्यानमा राखी न्यूनतम कागजातका आधारका सर्भे प्रतिवेदन बुझाउने व्यवस्था गर्नुपर्ने, सर्भेयरहरूले समानुपातिरूपमा काम पाउनुपर्ने, क्षति भएका स्थानमा बीमा सर्भेयरले सहजै प्रवेश पाउने व्यवस्था गर्नुपर्ने, सर्भेयरहरूलाई बढी जिम्मेवार बनाउनुपर्नेलगायतका धारणा राखेका थिए ।
त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बीमा नियमावली, २०८१मा गम्भीर प्रकृतिको विपत्को समयमा प्राधिकरणले दाबी भुक्तानीसम्बन्धी सङ्क्षिप्त कार्यविधि लागू गर्ने व्यवस्था भएबमोजिम प्राधिकरणले सङ्क्षिप्त कार्यविधि लागू गर्ने तयारी गरिरहेको उल्लेख गर्दैै त्यस सम्बन्धमा तीन दिनभित्र राय–सुझाव दिन सर्भेयर संघका पदाधिकाहरूलाई आग्रह गरे ।
कार्यकारी निर्देशक सुवेदीले बीमा सर्भेयरले आफूले प्राप्त गरेको इजाजतपत्रका आधारमा हालको अवस्थामा पनि सहजै काम गर्न सक्ने स्पष्ट गरे । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल अधिकारी, निर्देशक निर्मल अधिकारी तथा निर्देशक शाम्भराज लामिछाने र बीमा सर्भेयर संघ, नेपालका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।