काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको काम नियमित सञ्चालनमा आएको छ । परिस्थिति सामान्य बन्दै गएपछि आइतबारबाट मन्त्रालय र मातहतका सम्पूर्ण निकायको काम नियमित भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सचिव हरिप्रसाद मैनालीका ‘जेन–जी’ प्रदर्शनका कारण भदौ २७ सम्म सबै निकायको काम स्थगित भएको थियो । उक्त दिनसम्म निषेधाज्ञा रहेको, २८ गते शनिबार परेकाले आइतबारदेखि नियमितरूपमा सबै सरकारी तथा निजी कार्यालय सञ्चालनमा आएका छन् । मन्त्रालयले सामान्य काम सञ्चालन गरेको र पूर्वघोषित कार्यक्रम तथा आगामी कार्यक्रम भने मन्त्री बहालीपछि मात्रै हुने जनाइएको छ ।
पर्यटन मन्त्रालयमा धेरै क्षति भएको छैन । भुइँतलाको केही झ्यालका सिसा फुटेका छन् । केही गाडीमा क्षति भएको छ । त्यसबाहेक खासै समस्या भएको छैन ।
मन्त्रालयअन्तर्गतको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको बबरमहलस्थित पुरानो भवनमा भने आगजनी भएको छ । बबरमहल कार्यालयका कर्मचारीले सिनामङ्गलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा काम गरिरहेका छन् । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार प्रशासन, अर्थ, आन्तरिक लेखापरीक्षण र गुणस्तर, ‘कम्युनिकेसन नेभिगेसन’, अग्नि निवारण, आन्तरिक विमानस्थल तथा सुविधा विभाग, कानुन शाखा, ‘एटीएम’ विभाग र महानिर्देशकको सचिवालयलगायत संरचना आगजनीबाट जलेर ध्वस्त भएका छन् । केन्द्रीय पुस्तकालय र स्टोरमा भएका सम्पूर्ण सामग्री जलेर नस्ट भएका छन् । १२ भन्दा बढी सावरीसाधन जलेका छन् ।
कार्यालयमा भएको क्षतिबारे अध्ययन गर्न प्राधिकरणका प्रवक्ता बाबुराम पोखरेलको संयोजकत्वमा १३ सदस्यीय कमिटी गठन गरिएको प्रवक्त भूलले जानकारी दिए । कार्यालयमा भएको क्षतिको विवरणबारे मूल्याङ्कन गरेर प्रतिवदेन बुझाउन १५ दिनको समय दिइएको छ । यस्तै, नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)मा तोडफोड भएको छ । निगमका आधा दर्जन गाडीमा आगजनी गरिएको छ । निगमको प्रशासनिकलगायत सम्पूर्ण काम सामान्यरूपमा सञ्चालन भइरहेको निगमले जनाएको छ । पुरातत्व विभागका महानिर्देशक शौभाग्य प्रधानाङ्गले नियमित काम सञ्चालन भइरहेको बताइन् । उनका अनुसार विभागमा पनि कुनै क्षति भएको छैन । कार्यालयका दुईवटा गाडीमा क्षति पुगेको छ ।