काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन आवश्यक सहयोग र सहजीकरण गर्न सरकारसँग माग गरेको छ ।
नाडाले एक विज्ञप्ति जारी गरी सम्पूर्ण व्यावसायिक समुदायको सुरक्षालाई सर्वाेच्च प्राथमिकतामा राख्न पनि नाडाले सरकारलाई अनुरोध गरेको छ । हालै देशव्यापीरुपमा भएको आन्दोलन तथा प्रदर्शनले मुलुकमा गहिरो असर पारेको नाडाले जनाएको छ । नेपालको अटोमोबाइल क्षेत्र देशको उद्योग, व्यापार र रोजगारीको महत्वपूर्ण आधारशीला भए पनि हालका घटनाक्रमले यस क्षेत्रमा प्रत्यक्ष असर पारेको नाडाको भनाइ छ । ‘कर्मचारी, ग्राहक र सम्पूर्ण संरचनाको सुरक्षाप्रति समेत चिन्ता बढेको छ । देशको वर्तमान अवस्थाले उपभोक्ता विश्वासमा नकारात्मक असर पुर्याएको छ र दीर्घकालीनरुपमा लगानी र रोजगारीमा पनि चुनौती थपिएको छ’ नाडाले भनेको छ ।
नाडाले आफ्नो सदस्य कम्पनीहरूको हित, उपभोक्ताको विश्वास र देशको समग्र अटोमोबाइल उद्योगलाई सुरक्षित राख्न निरन्तर खटिने प्रतिबद्धता पनि जनाएको छ । ‘एकताबद्ध प्रयास, जिम्मेवार नेतृत्व र सकारात्मक संवादमार्फत मुलुक छिट्टै स्थायित्वतर्फ अघि बढ्नेछ भन्ने विश्वास समेत लिएका छौ’, नाडाद्दारा जारी विज्ञप्तिमा भनिएको छ । नेपालको इतिहासमा पहिलोपटक महिला प्रधानमन्त्री पाएको भन्दै नाडाले आउँदो ६ महिनाभित्र आम निर्वाचन समेत सम्पन्न गर्ने जिम्मेवारी लिएको सन्दर्भमा आम नेपाली जनताको भावना र मर्मलाई आत्मसात गर्न यो सरकार सफल हुने विश्वास लिएको जनाएको छ ।