काठमाडौं । नेपालको बाह्य अर्थतन्त्रमा सुधार देखिएको छ । चालू आर्थिक वर्षको पहिलो महिनाका सूचकहरुले अर्थतन्त्रमा सुधार देखाएका हुन् । नेपाल राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति एक दशमलव ६८ प्रतिशत रहेको देखिएको छ ।
त्यस्तै, कुल विदेशी विनिमय सञ्चिति २८ खर्ब ०६ अर्ब ४ करोड रहेको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २० अर्ब तीन करोड पुगेको छ । यस्तो सञ्चिति १६ दशमलव छ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । चालू खाता ७८ अर्ब १४ करोड र शोधनान्तर स्थिति ८९ अर्ब ३० करोड बचतमा रहेको केन्द्रीय बैंकले जनाएको छ । यसबाहेक विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २९ दशमलव नौ प्रतिशतले र अमेरिकी डलरमा २५ प्रतिशतले बढेको छ ।
२०८२ साउन महिनाको विप्रेषण आप्रवाह एक खर्ब ७७ अर्ब ४१ करोड रहेको छ । यस अवधिमा निर्यात ९५ दशमलव छ प्रतिशतले र आयात ११ दशमलव चार प्रतिशतले बढेको छ । नेपाल सरकारको खर्च ४६ अर्ब ३१ करोड र राजस्व परिचालन ८४ अर्ब ४७ करोड रहको छ ।
त्यसैगरी, विस्तृत मुद्राप्रदाय शून्य दशमलव सात प्रतिशतले घटेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२ दशमलव पाँच प्रतिशतले बढेको छ । यता, बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन शून्य दशमलव आठ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा शून्य दशमलव एक प्रतिशतले घटेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२ दशमलव पाँच प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको
वृद्धिदर आठ प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर दुई दशमलव ७५ प्रतिशत र ९१ दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर दुई दशमलव ६५ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर चार दशमलव शून्य दुई प्रतिशत र कर्जाको भारित औसत ब्याजदर सात दशमलव ७६ प्रतिशत रहेको छ ।
मूल्यवृद्धि दर भारतभन्दा नेपालमा कम
नेपालमा भारतभन्दा कम मूल्यवृद्धि दर देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८२ साउन महिनामा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति एक दशमलव ६८ प्रतिशत रहेको छ । सन् २०२५ अगस्ट महिनामा भारतमा यस्तो मुद्रास्फीति दुई दशमलव शून्य सात प्रतिशत रहेको छ ।
२०८२ साउन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति नेपालमा एक दशमलव ६८ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति चार दशमलव शून्य नौ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति दुई दशमलव २८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ९५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः छ दशमलव १७ प्रतिशत र दुई दशमलव ९४ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १० दशमलव ९७ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थको चार दशमलव ६४ प्रतिशत र फलफूलको तीन दशमलव शून्य एक प्रतिशतले बढेको छ । तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १८ दशमलव ५६ प्रतिशत, मरमसलाको चार दशमलव ८१ प्रतिशत र माछा तथा मासुको दुई दशमलव ४१ प्रतिशतले घटेको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १० दशमलव ६० प्रतिशत, शिक्षाको सात दशमलव ६७ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको छ दशमलव ८४ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको पाँच दशमलव शून्य छ प्रतिशत र सुर्तीजन्य पदार्थको चार दशमलव ६८ प्रतिशतले बढेको छ । बीमा तथा वित्तीय सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक शून्य दशमलव २२ प्रतिशतले घटेको छ ।
समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक एक दशमलव ६५ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक एक दशमलव ७० प्रतिशतले बढेको छ । प्रदेशगतरूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दुई दशमलव ८४ प्रतिशत, मधेश प्रदेशको एक दशमलव ८६ प्रतिशत, बागमती प्रदेशको एक दशमलव ६७ प्रतिशत, गण्डकी प्रदेशको एक दशमलव शून्य तीन प्रतिशत, लुम्बिनी प्रदेशको एक दशमलव ३५ प्रतिशत, कर्णाली प्रदेशको एक दशमलव ७९ प्रतिशत र सुदूरपश्चिम प्रदेशको शून्य दशमलव ३१ प्रतिशत रहेको छ ।
समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दुई दशमलव २६ प्रतिशत, तराईको एक दशमलव ३३ प्रतिशत, पहाडको एक दशमलव ५६ प्रतिशत र हिमालको दुई दशमलव ५९ प्रतिशत रहेको छ । त्यस्तै, २०८२ साउन महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति दुई दशमलव ३७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति तीन दशमलव ६६ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा उपभोग्य वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति छ दशमलव ५७ प्रतिशत रहेको छ भने मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति क्रमशः –०.१२ प्रतिशत र दुई दशमलव ९६ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य सूचकांक चार दशमलव शून्य आठ प्रतिशतले बढेको छ ।
नेपालीले पठाए पौने दुई खर्ब रेमिट्यान्स
विदेशमा रोजगारी गरिरहेका नेपालीहरुले नेपालमा पौने दुई खर्ब रेमिट्यान्स (विप्रेषण) एकै महिनामा पठाएका छन् । चालू आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाह २९ दशमलव नौ प्रतिशतले बढेको हो ।
उक्त वृद्धिसँगै नेपालमा एक खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ नेपाल भित्रिएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७ दशमलव सात प्रतिशतले वृद्धि भई एक खर्ब ३६ अर्ब ६० करोड रहेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५ प्रतिशतले वृद्धि भई एक अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५ दशमलव आठ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु. १९३ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.१४८ अर्ब आठ करोड रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४४ हजार चार सय ६६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २३ हजार छ सय ४४ छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३६ हजार नौ सय २८ र २२ हजार छ सय ४७ रहेको थियो ।
सरकारको खाता र बाह्य हिसाबकिताब बचतमा
सरकारको चालू खाता चालू आर्थिक वर्षको पहिलो महिना ७८ अर्ब १४ करोडले बचतमा देखिएको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ३३ अर्ब आठ करोडले बचतमा थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २५ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा ५६ करोडले बचतमा रहेको हो । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर एक अर्ब चार करोड छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२ करोड रहेको थियो ।
यसैगरी, समीक्षा अवधिमा ६९ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ८० करोड रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति ८९ अर्ब ३० करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४० अर्ब ९० करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३१ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ६४ करोडले बचतमा रहेको छ ।
२० महिनाको आयात धान्ने विदेशी मुद्रा
नेपालको विदेशी मुद्रा सञ्चिति बढेको छ । असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति चार दशमलव प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
उक्त वृद्धिसँगै साउनमा कुल सञ्चिति २८ खर्ब छ अर्ब चार करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ साउन मसान्तमा दुई दशमलव सात प्रतिशतले वृद्धि भई २० अर्ब तीन करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २० खर्ब ८२ साउन मसान्तमा चार प्रतिशतले वृद्धि भई २५ खर्ब ११ अर्ब ४५ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा दुई खर्ब ६३ अर्ब चार करोड रहेकोमा २०८२ साउन मसान्तमा १२ प्रतिशतले वद्धि भई दुई खर्ब ९४ अर्ब ५८ करोड कायम भएको छ ।
२०८२ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ दशमलव चार प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८२÷८३ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २० दशमलव चार महिनाको वस्तु आयात र १६ दशमलव छ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
२०८२ साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४५ दशमलव नौ प्रतिशत, १३८ दशमलव तीन प्रतिशत र ३६ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३ दशमलव आठ प्रतिशत, १२८ दशमलव एक प्रतिशत र ३४ दशमलव एक प्रतिशत रहेका थिए ।
५५ अर्बले घट्यो निक्षेप
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ५५ अर्ब ७९ करोड (शून्य दशमलव आठ प्रतिशत) ले घटी ७२ खर्ब शून्य आठ अर्ब नौ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ४३ अर्ब ४५ करोड (शून्य दशमलव सात प्रतिशत)ले घटेको थियो ।
वार्षिक विन्दुगत आधारमा २०८२ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२ दशमलव पाँच प्रतिशतले बढेको छ । २०८२ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः पाँच दशमलव छ प्रतिशत, ३७ दशमलव पाँच प्रतिशत र ४८ दशमलव चार प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः पाँच प्रतिशत, ३० दशमलव तीन प्रतिशत र ५७ दशमलव पाँच प्रतिशत रहेको थियो ।
२०८२ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५ दशमलव एक प्रतिशत रहेको छ । २०८१ साउन मसान्तमा यस्तो निक्षेपको अंश ३५ दशमलव नौ प्रतिशत रहेको थियो ।
झण्डै तीन अर्बले घट्यो कर्जा
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा दुई अर्ब ९३ करोड (शून्य दशमलव एक प्रतिशत) ले घटी ५४ खर्ब ९५ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १४ अर्ब ११ करोड (शून्य दशमलव तीन प्रतिशत)ले बढेको थियो ।
वार्षिक विन्दुगत आधारमा २०८२ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा आठ प्रतिशतले बढेको छ । २०८२ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थातर्फ प्रवाह भएको कर्जाको अंश ६२ दशमलव सात प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७ दशमलव तीन प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३ दशमलव चार प्रतिशत र ३६ दशमलव छ प्रतिशत रहेको थियो ।
२०८२ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १४ दशमलव आठ प्रतिशत र घरजग्गा धितो सुरक्षणमा ६४ दशमलव चार प्रतिशत कर्जा रहेको छ । २०८१ साउन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १३ दशमलव तीन प्रतिशत र ६६ दशमलव तीन प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा शून्य दशमलव आठ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा शून्य दशमलव छ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा शून्य दशमलव पाँच प्रतिशतले बढेको छ भने थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा शून्य दशमलव पाँच प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फको कर्जा एक दशमलव पाँच प्रतिशत र उपभोग्य क्षेत्रतर्फको कर्जा शून्य दशमलव शून्य चार प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा शून्य दशमलव दुई प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा दुई दशमलव सात प्रतिशत, ट्रस्ट रिसिट (आयात) कर्जा एक दशमलव एक प्रतिशतले, र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) शून्य दशमलव तीन प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा शून्य दशमलव एक प्रतिशत, नगद प्रवाह कर्जा शून्य दशमलव नौ प्रतिशत र अधिविकर्ष कर्जा तीन दशमलव दुई प्रतिशतले घटेको छ ।