काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही भदौ २४ गतेको आन्दोलनका क्रममा आयोग र मातहतका कार्यालयहरुबाट लुटपाट एवम् चोरी भएका सामान बुझाउन अनुरोध गरेको छ ।
आयोगले उक्त सामग्रीहरू काठमाडौंको हकमा प्रहरी वृत्त मालीगाउँ, काठमाडौं वा यस आयोगको कार्यालय टङ्गालमा र आयोगका मातहत कार्यालयको हकमा तत् कार्यालय वा नजिकको प्रहरी कार्यालयमा आई सामान बुझाइदिन समेत अनुरोध गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालले एक सार्वजनिक सूचना प्रकाशित गरी भदौ २४ गते आन्दोलनका क्रममा यस आयोग र मातहतका कार्यालयहरु (इटहरी, हेटौँडा, पोखरा, बुटवललगायत) मा भएको तोडफोड, आगजनी र चोरी एवम् लुटपाटबाट सवारीसाधनहरु (चारपाङ्ग्रे र दुईपाङ्ग्रे), टीभी, कम्प्युटर सेट, माइक्रो ओभन, विभिन्न साइजका हार्ड डिस्क, स्क्यानर, क्यामरा, आइप्याड, मोबाइल, ल्यापटप, हिटर, पङ्खालगायत सामानहरु लुटपाट एवम् चोरी भएकाले उक्त सामान बुझाउन अनुरोध गरेको हो ।
‘उक्त तोडफोड र चोरीमा संलग्नहरुको सीसीटीभी फुटेजमार्फत पहिचान गर्ने कार्य भइरहेको हुँदा कोही कसैले आयोग र आयोग मातहत कार्यालय परिसरबाट यस्ता सामग्री लिएको वा प्राप्त गर्नुभएको भए उक्त सामग्रीहरु काठमाडौंको हकमा प्रहरी वृत्त मालीगाउँ, काठमाडौं वा यस आयोगको कार्यालय टङ्गालमा र आयोगका मातहत कार्यालयको हकमा तत् कार्यालय वा नजिकको प्रहरी कार्यालयमा आई सामान बुझाइदिनुहुन अनुरोध छ । अन्यथा कानुनबमोजिम भइजाने व्यहोरासमेत जानकारी गराइन्छ,’ आयोगद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
संसद् सचिवालयले पनि गर्यो सामान फिर्ता गर्न आग्रह
सङ्घीय संसद् सचिवालय यही भदौ २४ गते भएको जेन–जी प्रदर्शनका क्रममा संसद् भवनबाट लगिएको सामान फिर्ता गर्न अनुरोध गरेको छ । सङ्घीय संसद् सचिवालय (आन्तरिक सेवा तथा योजना शाखा)ले आज सूचना जारी गरी सङ्घीय संसद् सचिवालयको स्वामित्वमा रहेका टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेर, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिन, विद्युतीय उपकरणलगायतका सामान अनधिकृत व्यक्तिले लगेको भन्ने बुझिएको उल्लेख गर्दै ती सामान फिर्ता गर्न आग्रह गरेको हो । सचिवालयले भनेको छ, ‘उल्लिखित मालसामान लगेको भिडिओ भएमा उपलब्ध गराई सहयोग गरिदिनुहुन हार्दिक आह्वान गरिन्छ, भिडिओ/सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने छ ।’