काठमाडौं । एनसेलले जेनजी नामक आन्दोलनका क्रममा काठमाडौंस्थित मुख्य कार्यालय ‘एनसेल आइकम’सहित चारवटा कार्यालयमा क्षति पुगेको जनाएको छ ।
कम्पनीले विज्ञप्ति जारी गरी मुख्य कार्यालयसँगै महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरूमा गम्भीर क्षति पुगेको जनाएको हो । कम्पनीका अनुसार यी घटनाले भौतिक क्षति मात्र नभई कर्मचारीहरूको सुरक्षा र सेवा निरन्तरतामा पनि गम्भीर जोखिम उत्पन्न गराएका थिए । चुनौतीहरूको बाबजुद पनि एनसेल सधैंझैँ देश र आम जनमानसलाई दूरसञ्चार सेवामा निरन्तर पहुँच सुनिश्चित राख्ने काम गरेको कम्पनीले जनाएको छ ।
संकटको समयमा सहजरुपमा सेवाको उपलब्धता सुनिश्चित गर्नका लागि कम्पनीले तीन दिनसम्म निःशुल्क लोकल भ्वाइस कल, एसएमएस र इन्टरनेट सेवा उपलब्ध गराएको विज्ञप्तिमा उल्लेख छ ।
साथै, कम्पनीले नेपाल अन्तरिम सरकारको नेतृत्वमा नयाँ अध्यायतर्फ अघि बढेको उल्लेख जनाउँदै देशका युवाहरुको अगुवाइमा गरिएको आन्दोलनले ल्याएको परिवर्तनलाई स्वागत गर्ने पनि जनाएको छ । यो परिवर्तनले सबै नेपालीका लागि अझ ठूलो एकता, शान्ति र समृद्धि ल्याउने कम्पनीको विश्वास छ । २० वर्षदेखि एनसेलले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा नेपालको रुपान्तरण यात्रामा साथ दिँदै, रोजगारी सिर्जना, आर्थिक वृद्धिलाई गति प्रदान गर्दै र डिजिटल नेपाल निर्माणको भिजनमा योगदान पु¥याउँदै आएको जनाईएको छ । ‘आज हामी अझै दृढ संकल्प र सहनशीलताका साथ देश र जनताको सेवा गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहो¥याउन चाहन्छौँ । हामी आफ्ना कर्मचारी, ग्राहक र जनसमुदायसँग काँधमा काँध मिलाएर उभिएका छौँ र अहिलेसम्म प्रदान गर्नु भएको साथ, समर्थन तथा ऐक्यबद्धताप्रति हृदयदेखि आभारी छौँ’, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीसम्बन्धी प्रहरीमा उजुरी एनसेलले मुख्य कार्यालय ‘एनसेल आइकन’मा अपराधी समूहहरुले मौका छोपी कार्यालयमा तोडफोड, आगजनी र डकैतीको घटना भएको र कम्पनीको सम्पत्तिमा ठूलो क्षति पुगेको भन्दै सोमबार एनसेलले जिल्ला प्रहरी कार्यलय, काठमाडौंमा उजुरी दर्ता गराएको छ ।
उजुरीमा यी घटनाहरुसँग संलग्न अपराधीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरी कानुनको दायरामा ल्याई हदैसम्मको सजायको भागिदार बनाई निजहरुबाट डकैती गरी लगिएको सामान फिर्ता दिलाउन, साथै आगजनीबाट क्षति भएको सम्पत्तिको क्षतिपूर्ति समेत दिलाई भराई पाऊँ भनी उल्लेख गरिएको छ । आन्दोलनको नाममा अपराधीहरुले समूह बनाई कम्पनीको सुरक्षाको लागि खटिएका सुरक्षाकर्मीहरुलाई एकैठाउँमा राखेर जलाउने डरधाक धम्की दिई उनीहरुलार्ई कोठामा थुनी भवनमा तोडफोड तथा आगजनी गर्ने कार्य गरेको जनाइएको छ ।
साथै, भवनको अगाडि भागको सिसाहरु फुटाई कार्यालयभित्र प्रवेश गरी ग्राउन्ड फ्लोरमा रहेको कम्पनीको ग्राहक सेवा केन्द्र र रिसेप्सनमा रहेका कार्यालय प्रयोजनमा प्रयोग भएको उपकरणहरु तोडफोड तथा आगजनी गरेको उजुरीमा उल्लेख छ । कम्पनीका सक्कल प्रमाणपत्र, अनुमतिपत्र, जग्गाधनी प्रमाणपूर्जा एवम् कार्यालयका महत्वपूर्ण अन्य कागजात आगजनी वा डकैतीका साथै नगद र कम्पनीका सेफहरु समेत लुटेर लगेको एनसेलले जनाएको छ ।
एनसेलले आफ्नो कार्यालयमा रहेका बहुमूल्य विद्युतीय समानहरु, कम्प्युटर, टेलिभिजन, प्रिन्टर, फ्रिज, ओभन, कफी भेन्डर मेसिनलगायतका सम्पूर्ण कार्यालयको काममा प्रयोग हुने सामानहरु डकैती गरी लगेको तथा आगजानी गरेको, कम्पनीका आफ्नै र तेस्रोपक्षबाट भाडामा लिएका महँगा मोटरगाडीहरु भेहिकलरुपबाट गाडीका साँचो नियन्त्रणमा लिई पालैपालो गरी भवनको आँगनमा ल्याई जलाएको र केही सवारी साधन भवनको कम्पान्ड बाहिर बाटोमा ल्याई आगो लगाई पूर्णरुपमा ध्वस्त गरेको र कम्पनीका कर्मचारीका गाडीहरु समेत तोडफोडका साथै आगजनी गरी ठूलो आर्थिक तथा भौतिक नोक्सानी गरेको उजुरीमा खुलाएको छ ।
प्रहरीमा दिइएको उजुरीअनुसार कम्पनीले घटनामा पुगेको क्षतिको विवरण तथा लुटिएका सम्पत्तिको सूची प्रहरीलाई उपलब्ध गराएको छ । साथै, घटनाको क्रममा कैद भएका सम्पूर्ण सीसीटीभी फुटेज पनि अनुसन्धानलाई सहयोग पु¥याउने उद्देश्यले प्रहरीलाई हस्तान्तरण गरिएको जनाएको छ । तोडफोड, आगजनी, डकैतीबाट कम्पनीको सम्पत्तिमा भएको वास्तविक क्षति यकिन गर्न मूल्याङ्कनको कार्य भइरहेको हुँदा अनुसन्धानको सिलसिलामा सोको थप विवरण उपलब्ध गराउने पनि जानकारी सो उजुरीमा खुलाएको छ ।