काठमाडौँ । जेनजी आन्दोलनले पुराना दल र नेताको औचित्य नै प्रश्नमा पारेको सन्दर्भमा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तत्काल राजीनामा माग गरेका छन्।पार्टीभित्र रूपान्तरणको बहस अघि बढाउँदै आएका शर्माले जेनजी आन्दोलनले भ्रष्टाचार, नेतातन्त्र र दलालीतन्त्रविरुद्ध प्रहार गरेको भन्दै अब नयाँ नेतृत्व आवश्यक रहेको निष्कर्ष प्रस्तुत गरेका हुन्। उनले पार्टी पंक्तिमा यसबारे छलफल सुरु गरेका छन्। शर्माको भनाइ उद्धृत गर्दै एक कार्यकर्ताले भने, “जेनजी आन्दोलनले नयाँ नेतृत्वको खोजी गरेको छ, त्यसलाई सकारात्मक रूपमा लिनुपर्छ। अहिलेको परिस्थितिमा पार्टीको मूल नेतृत्वले तत्काल राजीनामा दिनुपर्छ।”प्रचण्ड पक्षले भने शर्मामाथि पार्टीमा अराजकता मच्चाएको आरोप लगाउँदै आएको छ। शर्माले प्रस्तुत गरेको संश्लेषणमा १६ बुँदा छन्। प्रमुख बुँदामा पार्टी नेतृत्वको राजीनामा, सम्पत्ति छानबिन आयोग गठन, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, दलित–महिला समस्या समाधान, शहीद तथा अशक्त योद्धाको संरक्षण, स्वरोजगार अभियान, र राष्ट्रियताको रक्षा जस्ता मुद्दा समेटिएका छन्। यसअघि साउनमा बसेको केन्द्रीय समिति बैठकमा पनि शर्माले प्रचण्डको नेतृत्वमा प्रश्न उठाएका थिए, तर बहुमतले अस्वीकार गरेको थियो।